बाढी पीडितको आक्रोश: एमालेका कार्यकर्ता पंगेनीद्वारा मेयरलाई मुक्का



यमलाल भुसाल, बुटवल ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाइ पहिरो अवलोकन गर्न गएका बेला मुक्का प्रहार गर्ने एमाले कार्यकता गणेश पंगेनी रहेको पुष्टि भएको छ । पङ्गेनी अनेरास्ववियु रूपन्देही जिल्ला कमिटी सदस्यसमेत हुन् ।

नगरको ज्योतिनगरमा गएको पहिरो रोकथाम र पीडित जनतालाई राहत नदिएको भन्दै मेयर सुवेदीलाई पहिरो निरीक्षण गर्न गएको दौडानमा सोमबार हातपात गरेका हुन् । केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए ।

रातिदेखि परेको पानीले पहिरो खसेर ९ घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाएपछि उपमहानगरका प्राविधिक लिएर प्रमुख सुवेदी प्रभावित क्षेत्रमा जानुभएको थियो । उहाँसँगै उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, इन्जिनियरहरू सुमन श्रेष्ठ, योगेश चापागाइँ, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारीसहितको टोली निरीक्षणमा जानुभएको थियोे ।

पहिरो प्रभावित क्षेत्रका पीडितलाई प्रत्यक्ष भेट्ने, उद्धारका काममा ढिलाई र कमी हुन नदिने, त्यहाँ भइरहेका सुरक्षा प्रबन्धका कामलाई प्रभावकारी बनाउन लगाउने र प्रत्यक्ष अवलोकन गर्न प्रमुख सुवेदी त्यहाँ पुगेको उपमहानगरले जनाएको छ ।

सोही क्रममा नुरुप्रसाद पंगेनीका छोरा २६ वर्षीय गणेश पंगेनीले मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । पहिरोका कारण घर पूर्णरूपमा क्षति भएपछि पहिरो पीडित नुरुप्रसादको परिवार आफन्तीकोमा बस्दै आएका छन् । पंगेनीको परिवारमा ५ जना रहेको छन् । उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियु जिल्ला कमिटी सदस्य हुन् ।

विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको उनको भनाइ उद्धृत गर्दै प्रहरीले बताएको छ ।

पहिरोबाट घरलगायत घरमा भएका सबै साम्रगी पूर्णरूपमा क्षति हुँदासमेत राज्यले सहयोग नगरेको भन्दै उनी आक्रोशित थिए । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लालप्रसाद बस्याल गणेश पंगेनीको पहिरो पीडित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्