रोहिंग्या शरणार्थी नेपाल भित्र्याउने ३ बर्मेली समातिए



काठमाडौं, (नेस) ।

बंगलादेशको शरणार्थी शिविरमा बस्दै आएका म्यानमारका रोहिंग्या शरणार्थीलाई नेपालमा राम्रो भत्ता पाइने र त्यहाँबाट नै युरोप अमेरिकासम्म जान सकिने भन्दै नेपाल ल्याएर अलपत्र पार्ने ३ जना म्यानमारका नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बर्मेली नागरिक नुरल अमिन, सौफिक आलम र अहमद उललाई पक्राउ गरेको छ ।

पक्राउ परेका बर्मेलीले नेपालबाट युरोप अमेरिका लगायतका देशमा समेत जान सकिने भन्दै प्रति शरणार्थी २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिएर केही दिनअघि १४ जना रोहिंग्या शरणार्थीलाई बौद्ध ल्याएर छोडिदिएको प्रहरीले बताएको छ । पक्राउ परेका ती शरणार्थीलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको थियो ।

उनीहरूले नेपालमा अमेरिका जान परिचयपत्र पाइने र नेपालमा बस्दा प्रतिव्यक्ति पुरुषलाई ५ हजार ७ सय ५०, महिलाका लागि ३ हजार ३ सय ५० र बालबालिकाका लागि २ हजार ७ सय ५० रुपियाँ भत्तासमेत पाइने प्रलोभन देखाएर बंगलादेशबाट काठमाडौं ल्याउने गरेको  ब्युरोले जनाएको छ ।

मानव तस्करीमा संलग्न रहेका उनीहरू नेपालमा पनि शरणार्थी जीवन बिताउँदै आएको र नेपालमा विभिन्न व्यापार व्यवसायमा संलग्न हुँदै आएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्