कालीगण्डकी लोकमार्गको पुल चार वर्षदेखि अलपत्र



दुर्गाप्रसाद शर्मा, पर्वत ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने लमायखोला पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा बीचमा रहेको लमाय खोलाको पुल अलपत्र परेको हो ।

स्याङ्जाको मिर्मिदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाय खोलामा पुल नबन्दा करिडोर खण्ड अपुरै रहेको छ । प्राविधिकहरुको गलत डिजाइनका कारण निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको हो । २५ मिटर लम्बाइको लमाय खोला पुल ५ करोड ६४ लाख रुपियाँमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो । ठेकेदार कम्पनीले पुल बनाउन पेटी ठेकेदारलाई जिम्मा दिएको छ । कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले शुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुंगा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरे पनि इन्जिनियरहरुले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए ।

०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले ३ वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो । समयमै नसक्ने निश्चित भएपछि पेटी ठेकदारलाई जिम्मा लगाएर मूल ठेकदार सम्पर्कविहीन भएका थिए । त्यसपछि पुलको काम अगाडि बढेको छैन । दुईवटा खोलाको दोभानमा निर्माणाधीन पुलको जग वर्षेनी खोलाको बहावले कटान गर्दै आएको छ ।

पुल निर्माण गर्न थालिएको जमिन पनि पहिरोले कटान हुँदै आएको स्थानीय गंगाराज शर्माले बताउनुभयो । उहाँका अनुसार स्थानीयले चिर्दिखोला र लमाए खोलासमेत समेट्ने गरी अहिले भएको स्थानभन्दा ५० मिटर परबाट पुल बनाउन भनेका थिए । संघीय सांसद पदम गिरीले २०७५ कात्तिकमा ताकेता गरेपछि ठेकेदार शिव गौचनले समयमा काम सक्न केही प्राविधिक समस्या भएको बताउनुभएको थियो । व्यवसायी गौचनका अनुसार काम शुरु गरेलगत्तै पाल्पास्थित आयोजना कार्यालयले काम रोक्न आदेश दिएको थियो । उहाँका अनुसार दुवैतर्फ चट्टानमा पुल बनाउँदा टिकाउ नहुने भन्दै पुनः डिजाइन गर्ने भनेको कार्यालयले पछि पुरानै डिजाइनमा काम गर्ने भनेपछि अन्योल थपिएको हो ।

०७५ मंसिरमा काम शुरु गरेका व्यवसायीले ०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको रड, सिमेन्टलगायत लाखौं मूल्यका सामग्री अझै निर्माणस्थलमा अलपत्र छन् । यो पुलसँगै शुरु भएको मोदीखोलाको पुल गत वर्ष नै सम्पन्न भएर गाडी गुड्न थालेको छ ।

पुल नबनेपछि स्थानीय र सरोकारवाला निकै आक्रोशित छन् । कालीगण्डकी करिडोरअन्तर्गत रानीपानीदेखि फलेवासको पाङराङसम्म कालोपत्रका लागि तयारी भइरहेको छ । पाङराङदेखि मोदीबेनीसम्म ट्रयाक मात्रै खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्