गुमनाम गच्छदार



रामकृष्ण चापागाईं, काठमाडौं ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रियाअन्तर्गत तल्लो तहको अधिवेशन शुरू भइरहेको छ । तल्लो तहको अधिवेशनअन्तर्गत ५७ जिल्लाको वडा अधिवेशन गरिसकेको कांग्रेसले आज मंगलबार थप सात जिल्लामा वडा अधिवेशन हुँदै छ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन प्रक्रिया अघि बढेसँगै शीर्ष नेताहरूले उम्मेदवारी घोषणा गर्दै अघि बढ्न थालिसकेका छन् । पार्टीभित्र अधिवेशनको सरगर्मी देशभर बढिरहँदा उपसभापति विजयकुमार गच्छदार भने लामो समयदेखि गुमनाम छन् । २०७४ को आम निर्वाचनअघि आफ्नो नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक फोरम पार्टीलाई नेपाली कांग्रेसमा समाहित गरेका गच्छदारलाई पार्टी उपसभापतिको जिम्मेवारी दिनुका साथै संसदीय दलभित्र पनि उपनेताको जिम्मेवारी दिइएको थियो ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदारको सांसद पद पनि निलम्बनमा परेको थियो । त्यस बेलादेखि गुमनाम रहेका गच्छदार झन्डै एक वर्ष फरार सूचीमा रही पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै अदालतमा हाजिर हुन आएपछि एकाएक चर्चामा आउनुभएको थियो । अख्तियारले ९ करोड ६५ लाख ७६ हजार बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा चलाएको गच्छदारलाई अदालतले १० लाख धरौटीमा छाडेको थियो ।

अदालतले धरौटीमा छोडेलगत्तै राजनीतिक रूपमा तराई क्षेत्रमा बलियो पकड भएका गच्छदारले पार्टीभित्र आन्तरिक सक्रियता देखाउने अनुमान थियो । सभापति देउवा गुटका गच्छदारले महाधिवेशनको संघारमा अझ प्रभावकारी खेल्ने बताइँदै आएपनि उहाँ अहिले गुमनाम जस्तै बस्नुभएको छ । गच्छदार गुमनाम बसेसँगै महाधिवेशनमा उहाँले उम्मेदवारी दिन पाउने नपाउने भन्ने बारेमा पनि चर्चा भइरहेको छ ।
‘भ्रष्टाचार मुद्दा लागे पनि अदालतले दोषी ठहर गरेको छैन, यस्तो अवस्थामा पार्टीभित्र उम्मेदवार हुन उहाँलाई विधानले छेक्दैन’, कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘यो महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिन गच्छदारलाई विधानले छेक्दैन ।’ अदालतले दोषी ठहर गरी फैसला गरिसकेको सन्दर्भमा भने फरक हुने निर्वाचन समितिका संयोजक यादवको भनाइ छ ।

अधिवेशन प्रक्रिया अघि बढेसँगै दर्जनभन्दा बढी शीर्ष नेताहरूले सभापतिसहित पदाधिकारीका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । सभापतिमा विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठलगायतका नेताहरूले उम्मेदवारी दिने बताएका छन् भने महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महतलगायतका नेताले उम्मेदवारी घोषणा गरेका छन् । यो अधिवेशनमा सभापति देउवाले पुनः नेतृत्व दोहोर्‍याउन आफ्नो आन्तरिक तयारी अघि बढाइसक्नुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेतृत्वमा आफ्नो दाबी छोड्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्