ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौं ।

नजिकिँदै गरेको बडादशैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

महाशाखाले ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ चाडपर्व विशेष सुरक्षा योजना सोमबारदेखि नै लागू भएको जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरिएको बताउनुभयो । उहाँले विशेष सुरक्षा योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकजाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको जानकारी पनि दिनुभयो ।

उहाँले बसपार्क, टिकट काउन्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए/नभएको चेकजाँच एवं अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतनासमेत जगाउने जानकारी दिनुभयो ।
योजनासहितको विशेष चेकिङ

ट्राफिक प्रहरी कार्यालयको काठमाडौं उपत्यकामा रहेको ४३ वटा कार्यालयले दिनमा चार पटकसम्म तालिकाबमोजिमको चेकिङ गर्दै आएको छ भने नाकाहरूमा २४सै घण्टा चेकजाँच गर्ने गरेको छ । विशेष सुरक्षा योजनामा चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि चेकजाँचलाई समेत कडाइ पार्ने उल्लेख छ । चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै राति मात्र नभई दिउँसोसमेत मापसे चेकजाँच कडाइ गरिने एसएसपी भट्टराईले बताउनुभयो । विशेष गरी चाडपर्व समयमा तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने दुर्घटनालाई शून्यमा झार्न विशेष चेकिङ योजना सफल हुने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

थानकोट, नागढुंगा, जगाती, फर्पिङ, साँखु, बालाजु बाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारीसाधनलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ ।

लामो दूरीका सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखे नराखेको, बढी भाडा लिए/नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए/नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ ।

महाशाखाले सार्वजनिक गरेको विशेष सुरक्षा योजनामा लामो दूरीका सवारीसाधनमा २ जना चालक अनिवार्यरूपमा भए÷नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने उल्लेख छ ।

थप ट्राफिक प्रहरी परिचालन

चाडपर्वका बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ति परिचालन गर्ने महाशाखाको योजना रहेको छ ।

बसपार्क एरिया, उपत्यका प्रवेश गर्ने नाकाहरू, किनमेलका लागि आउने मानिस तथा सवारीसाधनको बढी भीडभाड हुने सपिङ कम्प्लेक्स तथा व्यापारिक केन्द्रमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ति परिचालन गरी सहज आवागमनको व्यवस्था मिलाइने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताउनुभयो ।

न्युरोड, ठमेल, कालिमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चावहिल, बौद्ध, बालाजु, बसपार्कलगायतका क्षेत्रमा बढी भीडभाड हुने विगतको अनुभवलाई मनन गर्दै त्यस्ता क्षेत्रमा थप जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापन एंव पार्किङ व्यवस्थापन मिलाइने र आवश्यक परेको खण्डमा न्युरोड, खिचापोखरी, इन्द्रचोकलगायतका भित्री इलाकामा सवारी साधन छिर्न नदिइने व्यवस्था गरिने प्रवक्ता दासले जानकारी दिनुभयो ।

१४ स्थानमा यात्रु सहायता कक्ष

नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्क गरी उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरू सञ्चालन हुने भएको छ ।

यात्रु सहायता कक्षले सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधिबाट जोगाउने र सुरक्षासम्बन्धी सूसुचित गर्ने, स्वास्थ्य प्रोटोकलको पालना गर्न लगाउने, टिकट तथा भाडा ठगीलगायतका यात्रुहरूको गुनासो व्यवस्थापन गर्ने, सहज यात्राको व्यवस्थासमेत गर्ने महाशाखाले जनाएको छ ।

यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडादर टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्ति तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरूको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने माहशाखाले उल्लेख गरेको छ ।
सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन

नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, भाडा बढी असुल्ने, यात्रुसँग हुने अमर्यादित व्यवहार, गन्तव्य नपुगी गाडीबाट ओरालिदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रिय रहने एसएपी भट्टराईले बताउनुभयो ।

अन्य समयको तुलनामा चाडपर्वको समयमा विशेष गरी गाेंंगबु नयाँ बसपार्क क्षेत्र, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, पुरानो बसपार्क, गौशाला, जडीबुटीलगायतका भीडभाड हुने स्थान र टिकट काउन्टरहरूमा हुन सक्ने भाडा ठगी नियन्त्रण गर्न, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी गर्न, त्यस्तै टिकट मूल्यअनुसार लिएको छ/छैन चेकजाँच गर्न र पकेटमार तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाले जनाएको छ ।

महाशाखाले तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुई जना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउने सर्वसाधारणसँग अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्