संखुवासभा सामूहिक हत्या प्रकरण: थप चार आरोपित सार्वजनिक



इन्द्र गिरी, संखुवासभा ।

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्याकाण्डमा संलग्न थप चार जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ ।

संखुवासभा जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन गरी हत्या आरोपमा प्रहरीले प्रत्यक्ष संलग्न रहेका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, निजका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका १७ वर्षीय छोरा नरेश कार्कीलाई पकाउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुले आफूहरुले अभियुक्त रणबहादुर कार्कीको घरमा अघिल्लो दिन हत्या योजना बनाई भोलिपल्ट बिहान तेजबहादुर कार्कीलगायत परिवारका ६ जनाको सामूहिक हत्या गरेको स्वीकार गरेका छन् । पक्राउ परेका खड्गबहादुर र रणबहादुर सहोदर दाजुभाइ रहेका छन् भने मृतक परिवार तेह्रदिने दाजुभाइ हुन् । उनीहरुले आफू र आफ्नो परिवारलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने सधैं गालीगलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको संघीय प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताउनुभयो ।

यसअघि प्रहरीले अभियुक्त रणबहादुरको जेठा छोरा २५ वर्षीय लोकबहादुर कार्कीलाई भदौ २७ गते हत्या आरोपमा सार्वजनिक गरेको थियो । अभियुक्त लोकबहादुरले आफू एकै जनाले सबैको हत्या गरेको स्वीकार गरे पनि घटनाको प्रकृति अध्ययन र लोकबहादुरको बयानका आधारमा थप अन्य व्यक्तिको संलग्नता भएको आशंकामा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले हत्यामा धारिलो हतियार, दाउराको चिर्पट प्रयोग र मृतक रञ्जनाको मोबाइल घटना भएकै दिन बिहान करिब ६ बजेतिर स्विच अफ भई घटनास्थलमा फेला नपरेका कारण घटनामा अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंका गरेको थियो । प्रहरीले अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा १० जना प्रहरी टोली घटनास्थलमा परिचालन गरेको थियो ।

अनुसन्धानका क्रममा मृतकहरुको पोस्टमार्टमको रिपोर्ट र पक्राउ परेका लोकबहादुरले दाउराको चिर्पटले मात्र हानेर हत्या गरेको स्वीकार गरेको र घटनामा धारिलो हतियार प्रयोग, घाँटी बटारी हत्या भएको देखिएकाले प्रहरीले थप अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका क्रममा अभियुक्त नरेशको साथबाट एक हप्तापछि मृतक रञ्जनाको मोबाइल भेटिएको र उनलाई पक्राउ गरी अनुसन्धानपछि अन्य व्यक्तिहरु घटनामा संलग्न भएको प्रहरीसमक्ष बयान दिएपछि उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक गरिएका अभियुक्तमध्ये खड्गबहादुर कार्की मुख्य योजनाकार रहेका र उनकै निर्देशनमा लोकबहादुर, उनका भाइ नरेश र खड्गबहादुर कार्कीका छोरा हस्तबहादुर, तेजबहादुरलगायतले दाउराको चिर्पट, धारिलो हतियारको प्रयोगले हत्या गरी मृतकको लास खोल्सामा फाल्ने काम गरेको उनीहरुले स्वीकार गरेका छन् । उनीहरुले तेजबहादुरलगायत ६ जनाको हत्यापछि तेजबहादुरको घरबाट अभियुक्त ५ जना रणबहादुरको घरमा भेला भई प्रहरीले पक्राउ गरे लोकबहादुर आफू एक्लैले हत्या गरेको स्वीकार गर्ने सहमति गरी खड्गबहादुर घरतर्फ गएको खुल्न आएको छ ।

प्रहरीले घटनामा प्रयोग गरिएका छुरी, रगत लागेको कपडा र हराएको मोबाइल बरामद गरेको र घटनाको थप अनुसन्धान भइरहेको संखुवासभा प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । उहाँले घटनास्थलमा अहिले पनि प्रहरी निरीक्षकसहित १० जनाको टोलीले अन्य अनुसन्धान गरिरहेको बताउनुभयो ।

घटनामा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीय पार्वती, ५८ वर्षीय छोरो तेजबहादुर, ५२ वर्षीय बुहारी कमला, ३२ वर्षीय नातिनी बुहारी रञ्जना र ८ वर्षीय पनाति दिपेन, ५ वर्षीय पनातिनी गोमाको बीभत्स हत्या भएको थियो । उनीहरुको घरदेखि केही पर बाटो, खोल्सा र खरबारीमा बीभत्स हत्या गरेको अवस्थामा गाउँलेले शव फेला पारेका थिए । उनीहरूको भाद्र २१ गते बिहान हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्