हेटौंडामा पसलकाे सीसी क्यामेराले भेट्यो साढे ६ लाख



हेटौंडा, (नेस) ।

भदौ ३० गते बुधबार इन्भेष्टमेन्ट बैंक हेटौंडाबाट चेक साटेर बजारतर्फ आउँदै गर्दा हराएको नगद एक व्यवसायीले अन्य व्यवसायीको सहयोगमा फिर्ता पाएका छन् ।

इभर ग्रिन फेन्सी सञ्चालक सञ्जन गौतमको हराएको ६ लाख ५० हजार हेटौंडा–१०, टीसीएन रोडका व्यवसायीको पसलमा बाहिरसम्म देख्न सकिने गरी जडित सीसी क्यामेराहरुमार्फत् आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा रकम भेट्ने व्यक्तिको घरमै पुगेर फिर्ता ल्याइएको हो ।पैसा हराएर ५ दिनदेखि चिन्तामा रहेका गौतमले पैसा भेट्ने हेटौंडा–१० की ठूलीमाया गोलेलाई पुरस्कारस्वरुप ५० हजार ५ सय रुपियाँ प्रदान गरी बाँकी रकम हात पार्नुभएको छ । ‘उहाँले आफै आएर रकम दिनुभएको भए १ लाख पुरस्कार दिने सोचमा थिएँ । तर, उहाँले पैसा भेटेर सम्पर्क गर्नु भएन । हामी आफै‍ प्रहरीको सहयोगमा उहाँलाई भेट्यौं,’ गौतमले भन्नुभयो ।बैंकबाट रकम निकालेर मोटरसाइकलले लेगार्डमा झुन्ड्याएर सीमाचोकतर्फ हिँड्नुभएका गौतमले सीमाचोक आइपुग्दा पैसा हराएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराउनुभएको थियो । उक्त रकम बैंकमार्फत् ऋण लिएको बताउँदै उहाँले माया मारेको रकम हात पार्दा खुशी लागेको बताउनुभयो ।

उक्त घटनाले सुरक्षाका लागि बजारका पसल व्यवसायीले सीसी क्यामेरालाई ध्यान दिनुपर्ने देखिएको छ । तर, हेटौंडा बजार क्षेत्रमा जडित अधिकांश सीसी क्यामेरा बिग्रिएको वर्षौं भइसकेको छ । सीसी क्यामेरा बिग्रिएपछि बजारको सुरक्षामा चुनौती थपिएको छ । बजार क्षेत्रमा भएका घटनाहरुलाई विश्लेषण गर्न प्रहरीलाई गाह्रो भइरहेको छ । बिगतमा क्यामेराकै मद्धतबाट धेरै आपराधिक गतिविधि अनुसन्धान गरिएका थिए । सडक बिस्तारका समय विद्युत् पोल हटाउँदा र चट्याङका कारण क्यामेराहरु बिग्रिएको प्रहरीले जनाएको छ । तर, मर्मतमा चासो छैन ।मकवानपुर उद्योग वाणिज्य संघले करिब २ वर्षअघि नै ती क्यामेरा सञ्चालनको जिम्मा नगरपालिकालाई हस्तान्तरण गरेको संघ अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो । संघले बजार सुरक्षाका लागि मुख्य क्षेत्र र राजमार्गमा ३८ वटा सीसी क्यामेरा जडान गरी प्रहरी र नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाका अनुसार करिब एक वर्षअघि नगरपालिकाले मर्मत गरेर बजारका सीसी क्यामेराको जिम्मा जिल्ला प्रहरी कार्यालयलाई दिएको थियो । केही महिनादेखि २३ वटा क्यामेरा थन्केर बसेका थिए । थपलिका अनुसार अब तार फेर्ने काम सकेर पूर्णरुपमा सञ्चालनमा आउनेछ । निषेधाज्ञाको समयमा तार नपाइएका कारण मर्मत गर्न ढिला भएको उहाँको दाबी छ ।सीसी क्यामेरा जडान गर्दा नै यसको रेखदेख, मर्मतसम्भार जस्ता कुराहरुमा कुनै निकायलाई जिम्मेवार नबनाइँदा संरक्षण र मर्मत हुन सकेको छैन । नगरभित्र हुने अपराध न्यूनीकरण तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका भएको सीसी क्यामेरा जडान गर्ने समयमा बीमा गरिएन, जसका कारण चट्याङले पनि केही सीसी क्यामेरालाई बिगारेको छ । कहीं तार चुँडिएका छन्, कहीं ब्याट्री मर्मत गरिएको छैन । सामान्य मर्मत गर्दा चल्ने सीसी क्यामेरा छन्, तर मर्मतमा कोही जिम्मेवार भएनन् । सामान्य मर्मत गर्ने स्रोत कसले व्यवस्थापन गर्ने भन्नेमा एकमत छैन । सबैले एक अर्कालाई पन्छाउँदा सीसी क्यामेरामा लगानी बालुवामा पानी भइरहेको छ ।

चालु अबस्थाका क्यामेराहरुले हेटौंडामा दिनरात भइरहेका गतिविधि कैद गरिरहेका थिए । करिब ४ वर्षअघि जडित सीसी क्यामेराका लागि २५ लाख ४८ हजार रुपियाँ खर्च गरिएको थियो । ती सीसी क्यामेरामध्ये २ क्यामेराको क्षमता ३०० मिटरसम्मका दृष्य तान्न सक्ने र तीनसय ६० डिग्रीको कोणमा घुमेर वरिपरिका गतिविधि कैद गर्नसक्ने छ ।दुई क्यामेरा हेटौंडाको मुख्य बजार वुद्धचोकमा राखिएका छन् । १०० मिटर दुरी हेर्ने क्यामेराहरु हेटौंडा–२, चेम्बरमार्गदेखि हेटौंडा–१० स्थित बाइपास सडकमा, वुद्धचोकदेखि कान्तिराजपथ, राप्तीरोडहुँदै जिल्ला प्रहरी कार्यालयसम्म, हेटौंडा–३ स्थित पुरानो मकवानपुररोड, बसपार्क गरी मुख्य बजारमा जडान गरिएका छन् । उक्त उच्च प्रविधियुक्त क्यामेराले २४ सै घण्टा दृष्य कैद गरिरहेका थिए ।

नगर क्षेत्रका करिब ३ किलोमिटर भूभाग सीसी क्यामेराको निगरानीमा थियो । जिल्ला प्रहरी कार्यालयमा मुख्य नियन्त्रण कक्ष राखिएका सीसी क्यामेराहरु ‘नाइट भिजन’ छन् । नियन्त्रण कक्षमा ३ वटा ३२ इञ्चको एलईडी टिभी राखिएको छ । क्यामेरामा पाँँच दिनसम्मका गतिविधि कैद हुने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्