कांग्रेस वडा अधिवेशन: १३ जिल्लामा अनिश्चित



रामकृष्ण चापागाईं, काठमाडौं । 

नेपाली कांग्रेसको संशोधित कार्यतालिकाअनुसार २० जिल्लामा हुने असोज ५ गते वडा अधिवेशन १३ वटा जिल्लामा भने अनिश्चित भएको छ । क्रियाशील सदस्यता विवाद टुंगाउन नसक्दा वडा अधिवेशन हुन बाँकी २० मध्ये ७ जिल्लामा मात्र अधिवेशन हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार प्रदेश–२ को ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँके जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लाग्न बाँकी रहेको छ । क्रियाशील सदस्यको सूची सार्वजनिक भएको ७ जिल्लामा ५ गते नै वडा अधिवेशन गर्न जिल्ला निर्वाचन अधिकृत खटाइसकिएको भन्दै निर्वाचन समितिका संयोजक यादव भन्नुहुन्छ– ‘बाँकी १३ जिल्लाको शनिबार साँझसम्म पनि क्रियाशील सूची प्राप्त नभएकाले त्यहाँ ५ गते वडा अधिवेशन गर्न सम्भव भएन ।’

विवादका कारण रोकिएको २० जिल्लाको वडा अधिवेशन गर्ने भन्दै निर्वाचन समितिले तल्लो तहअन्तर्गत जिल्ला अधिवेशनसम्मको कार्यतालिका परिवर्तन गरेको थियो । क्रियाशील सदस्य विवादका कारण वडा अधिवेशन प्रभावित भएसँगै असोज ९ गते गर्ने भनिएको गाउँ/नगर अधिवेशन पनि प्रभावित हुने बताइएको छ । २० जिल्लामध्ये काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बाजुरा, मोरङ र बर्दिया जिल्लाको क्रियाशील सदस्यको सूची भने बुधबार नै सार्वजनिक गरिएको थियो ।

मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्न लागेको कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । क्रियाशील सदस्यता विवादका कारण एकैपटक वडा अधिवेशन गर्न नसकेको कांग्रेसले गाउँ÷नगरपालिका अधिवेशन सबै जिल्लामा असोज ९ गते एकैपटक गर्ने कार्यतालिका बनाएको थियो ।

अधिवेशन कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते तोकिएको छ । तल्लो तहको अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते गर्ने मिति तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्