राजधानीमा चाडबाड लक्षित विशेष सुरक्षा योजना लागू



ईश्वरराज ढकाल, काठमाडौं ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चाडबाड लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । परिसरले असोज १ गतेबाट सुरक्षा योजना लागू गरेको जनाएको हो । विशेष सुरक्षा योजना अवधिभर ५ हजार प्रहरी परिचालित हुनेछन् ।

चाडबाडको मुखमा घर छाडेर जाँदा नजिकैको प्रहरीलाई जानकारी दिनुपर्नेदेखि घरमा सीसीटिभी जडान गर्नेसम्मको योजनामा समावेश गरिएको छ । प्रहरीले अति विशिष्ट र विशिष्ट पाहुनालाई घर छाडेर अन्यत्र जानुपर्दा अनिवार्यरूपमा प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।

प्रहरीले चाडबाड नजिकिँदै जाँदा चोरीको घटना बढ्न सक्ने, सार्वजनिक यातायातमा लुटपाट गर्ने गिरोह सक्रिय हुने, मादक पदार्थ सेवन गरी हुलहुज्जन गर्ने, जुवा खेल्ने, विभिन्न किसिमका ठगी गर्नेलगायतका आपराधिक गतिविधि न्यूनीकरण गर्न परिसरले सुरक्षा योजना ल्याएको हो ।

महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले राजधानीको सबै क्षेत्रमा विषेश सुरक्षा योजना लागू भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘विगत जस्तै यो वर्ष पनि आपराधिक घटना हुन नदिन सुरक्षा योजना लागू गरिएको हो ।’

परिसरले विशेष गरी गहना पसल, ठूला सपिङ मल, बढी भीडभाड हुने न्युरोड, असन, कालिमाटी, बानेश्वरलगायतका क्षेत्रमा सुरक्षा योजना लागू गरिएको जनाएको छ । उहाँका अनुसार प्रहरीले भीआईपीको आवत–जावत हुने क्षेत्र, मठ–मन्दिरलगायतका क्षेत्रमा २४सै घण्टा सुरक्षा व्यवस्था लागू गरेको छ । राजधानीको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र पूर्ण सुरक्षाको प्रत्याभूति गर्न सक्ने गरी विशेष सुरक्षा व्यवस्था लागू गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले चाडवाड लक्षित सुरक्षाअनुसार २४सै घण्टा चेकजाँच गर्ने, सादा पोशाकका विशेष टोली खटाउने, राजधानी भित्रिने मुख्य नाका नागढुंगा, थानकोट, फर्पिङ, जडीबुटीलगायतका क्षेत्रमा चेक प्वाइन्ट खडा गरी चेकजाँच गर्नेलगायतका योजना सार्वजनिक गरेको छ ।

परिसरले जारी गरेको विशेष सुरक्षा योजना छठ पर्वसम्म लागू हुनेछ । एसएसपी सिंहका अनुसार विशेष सुरक्षा कार्यक्रमअन्तर्गत काठमाडौंमा चाडपर्वमा ६१ ठाउँमा बिहान, बेलुका र दिउँसो पैदल (पिकेट) गस्ती खटाइएको छ । परिसरले सवारी टिकटमा कालोबजारी हुन नदिन नयाँ बसपार्क, कलंकी, कोटेश्वर र बल्खुस्थित सुमो बसपार्कमा विशेष टोली खटाएको छ ।

त्यसै गरी, २४ घण्टासम्म खटिने गरी ४८ वटा मोबाइल गस्ती, ३५ साइकल गस्ती, ८३ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी), सर्च एन्ड सिल अभियान, एरिया सिल र सर्च, एक्बुसिङ र निगरानी गर्न ३०–३० जना प्रहरीसहितको एम्बुसिङ टिम परिचालन गर्ने भएको छ । त्यस्तै, सीआरभी र क्रस चेकिङ गर्न राजधानीको मुख्य–मुख्य ५० स्थानमा प्रहरी परिचालन गरिनेछ ।

परिसरले तत्काल कुनै घटना भए रेस्पोन्स गर्न १५ प्रहरीसहितको विशेष टिम गठन गरेको छ । प्रहरीले स्थानीय टोलसुधार, युवा, महिलालगायतका समूहको सहयोगमा टोल–टोलमा माइकिङ गर्ने, पर्चा पम्लेटहरू वितरण गर्ने भएको छ । यसका लागि प्रहरीले वृत्त, प्रभाग र चौकी, प्रहरी पोस्टलाई निर्देशन दिइसकेको छ ।

‘मुख्य चोक, व्यापारिक केन्द्रलगायत अति संवेदनशील र संवेदनशील क्षेत्रमा तालिमप्राप्त कुकुरसमेत परिचालन गर्ने तयारी गरेका छौं ।’ –एसएसपी सिंहले भन्नुभयो । तिहार र छठसम्मको सुरक्षा योजना भएकाले अहिलेबाटै पटाकालगायत विस्फोटक पदार्थ नियन्त्रण गर्न विशेष टोली परिचालन गरेको उहाँले बताउनुभयो । अधिकांश व्यापारीले तिहारका लागि दशैंअगावै राजधानीमा पटाका भित्र्याउने गरेका छन् ।

प्रहरीले खसीबोका व्यापारदेखि पूजापाठमा हुने भीड नियन्त्रणमासमेत सुरक्षा योजना लागू गरेको छ । प्रहरीले भीडभाड हुने क्षेत्रमा भेला हुँदा वा किनमेल गर्दा अनिवार्य रूपमा मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ । एसएसपी सिंहले भन्नुभयो– ‘हामी शान्ति सुरक्षा प्रदान गर्न २४सै घण्टा खटिनेछौं, यसैका लागि चाडबाड लक्षित सुरक्षा योजना लागू गरेका हाैँ ।’

उपत्यकाका तीनै जिल्लाका प्रहरी कार्यालयले सुरक्षा योजना ल्याउने तयारी गरिरहेका छन् । प्रहरीले तीनै जिल्लाका सुरक्षा प्रमुखसहितको बैठकले संयुक्त सुरक्षा योजना ल्याउने अन्तिम तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्