कोरोनामा खटिएकालाई मिल्सबेरीको सम्मान



नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना संक्रमणले मुलुकलाई आक्रान्त पारिरहेको बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा विभिन्न स्वास्थ्य संस्थालाई मिल्सबेरी स्कुलले सम्मान गरेको छ ।

मिल्सबेरी वार्षिकोत्सवको अवसर पारेर शनिबार स्कुलले सम्मान गरेको हो । विभिन्न बहानामा आउने महामारीले जनधनका साथै समाजलाई नै नकारात्मक असर गरिरहेको बेला मिल्सबेरी स्कुलले आयोजना गरेको यो कार्यक्रम पे्ररणादायी भएको नेपाली कांग्रेसका युवा नेता तथा सांसद् गगन थापाले बताउनुभयो । उहाँले आफ्नो परिवारभन्दा पनि जनताको स्वास्थ्यलाई प्राथमिकता दिई कोरोना संक्रमण उच्च भएको बेलामा पनि स्वास्थ्यकर्मीहरूले उच्च हौसलाका साथ काम गरेकैले लाखौंले आफूलाई कोरोना संक्रमणबाट मुक्त पार्न सकेको बताउनुभयो ।

कोरोना संक्रमितलाई जोगाउन योगदान पुर्‍याएवापत नेपाली सेनाले सञ्चालन गरेको वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरीले सञ्चालन गरेको एपीएफ अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताललाई सम्मान गरिएको थियो भने कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्‍याउने एम्बुलेन्स चालकलाई पनि सम्मानित गरिएको थियो ।

स्कुल परिसरमा सामाजिक दूरी कायम गरी सञ्चालन गरिएको कार्यक्रममा सम्मानितहरूलाई हौसला दिन माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, क्रिकेटर पारस खड्का लगायतका व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्कुलका अध्यक्ष सुशील दाहालले ‘हामीले नगरे कसले गर्ने’ भन्ने पे्ररणाबाट प्रभावित भएर समाजका लागि उदाहरणीय काम गरेका स्वास्थ्यकर्मी तथा स्वास्थ संस्थालाई सम्मान गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्