मध्यपुर थिमिले सम्पदा, स्वास्थ्य र सरसफाईको क्षेत्रमा गरेका काम अनुकरणीय



न्युज अफ नेपाल, भक्तपुर ।

मध्यपुर थिमि नगरपालिकाले पछिल्ला साँढे ४ बर्षमा सम्पदा,स्वास्थ्य र सरसफाईको क्षेत्रमा गरेका काम अनुकरणीय रहेको बताईएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुर थिमी नपाको समन्वयमा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र जापानी रिकिसी कम्पोष्ट मल प्रविधि बारेको पत्रकार अन्तरकृया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले पछिल्ला साँढे ४ बर्षमा नपाले सम्पदा,स्वास्थ्य र सरसफाईको क्षेत्रमा गरेका काम अनुकरणीय रहेको बताउनुभयो । उहाँले नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कोभिड १९ प्रतिकार्य मा गरेका कार्य र रिकिसी कम्पोष्ट मल उत्पादन सम्बन्धी र कला सम्पदा र पोखरी संरक्षणमा हाल सम्म भए गरेका कार्य अन्य नगरपालिकाका लागि पनि अनुकरणीय रहेको बताउनुभयो ।

तीन दर्जन बढी सञ्चारकर्मीको सहभागितामा सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा मध्यपुर थिमी नपाका प्रमुख श्रेष्ठले चार बर्षमा आफ्नो नेतृत्वमा सम्पन्न उत्साहजनक कामको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल कसरी नमूना बन्न सफल भयो भन्ने सम्बन्धमा उक्त अस्पतालका कार्यकारी निर्देशक डा. ज्ञानकृष्ण श्रेष्ठले विवरण प्रस्तुत गर्नुभएको थियो ।

साथै जापानी रिकिसी कम्पोष्ट मल प्रालि.का प्रोप्राइटर उषा गिरीले दक्षिण एसियामा नै पहिलो पटक कसरी जापानी प्रविधिको रिकिसी मल उत्पादन संभव भयो भनेर तथ्य प्रस्तुत गर्नुभयो । सेजनका निवर्तमान अध्यक्ष तथा सञ्चारकर्मी भीम गौतम र थिमी नपाका योजना महाशाखा प्रमुख सत्य नारायण शाहले समेत प्रस्तुति दिनुभयो ।

थिमी नपाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरको बिकासमा सबै जनप्रतिनिधिको उत्तिकै भूमिका रहेकोमा जोड दिनुभयो ।प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले सरोकारवाला सबैको सहयोगले नगरपालिकाको मुहार फेरिन थालेको बताउनुभयो ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन केन्द्रकी कोषाध्यक्ष लिला श्रेष्ठले गर्नुभएको थियो ।

केन्द्रका सचिव हेमराज ढकालले सञ्चालन गरेको कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले मन्तब्य राख्नुभयो भने निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकीले कार्यक्रममा उपस्थितलाई धन्यबाद ज्ञापन गर्नुभयो । सो अवसरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नव निर्वाचित कार्यसमितिलाई मध्यपुर थिमी नगरपालिकाका प्रमुख श्रेष्ठले स्वागत तथा सम्मान गर्नुभयो । १८ भाद्रमा निर्वाचित सेजनमा जनार्दन बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्