बारा ।
बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटनको विषयलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते भएका छन् ।
अस्पताल भवनमा विद्युत् र फर्निचरलगायतका आवश्यक पूर्वाधारहरूको काम पूरा नहुँदै उद्घाटन गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर फेटा गाउँपालिका–४ का धर्मेन्द्र पासवानका छोरा वर्ष १८ का आदित्य पासवान घाइते भएका हुन् ।
कार्यक्रमस्थलमा प्रवेश गरी स्थानीयवासीले अस्पताल भवनमा राखिएको शिलालेख, टेन्टलगायतका संरचनामा तोडफोड सुरु गरेपछि तनाव बढेको थियो । कार्यक्रम स्थलमा ढुंगामुढासमेत हुन थालेपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर पासवान घाइते भएका हुन् ।
घाइते पासवानको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनको शरीरबाट गोली निकालिएको छ । गोली चलेपछि थप आक्रोशित स्थानीयवासीले अस्पताल परिसरमा रहेका नौवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार प्रतिनिधिसभा कानुन, न्याय तथा संसदीय मामिला समितिकी सभापति समीक्षा बास्कोटा नवनिर्मित भवन उद्घाटनका लागि फेटा आउने कार्यक्रम तय भएको थियो । सभापति बास्कोटा कलैया आइपुगिसकेपछि भवन उद्घाटनको विषयलाई लिएर गाउँपालिकाका पूर्वअध्यक्ष अमिरीलाल प्रसाद (कलवार) र वर्तमान अध्यक्ष रुस्तम अन्सारी पक्षधरबीच विवाद उत्पन्न भएको थियो ।
तत्कालीन जसपाबाट निर्वाचित अमिरी हाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ भने विवेकशील साझा पार्टीबाट अध्यक्षमा निर्वाचित रुस्तम भने रास्वपामा सक्रिय हुनुहुन्छ । विवादको सूचनापाएपछि सांसद बाँस्कोटा भने कलैयामा बस्नुभएको थियो ।
प्रजिअ अधिकारीका अनुसार पूर्वगाउँपालिका अध्यक्ष अमिरीलालसहितको टोलीले भवन उद्घाटन गर्न नदिने भन्दै प्रशासनलाई जानकारी गराएको थियो । यता गाउँपालिकाका वर्तमान अध्यक्ष रुस्तम अन्सारीले भने सभापति बाँस्कोटा आउने कार्यक्रम रहेकाले शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन प्रशासनसँग आग्रह गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमलाई लिएर विवाद हुनसक्ने सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी अधिकारीले सामाजिक सञ्जालमा स्टाटस तथा विरोधसम्बन्धी गतिविधि नगर्न र सडकमा झडप हुनसक्ने भएकाले संयमता अपनाउन आग्रह गर्नुभएको थियो । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रशासनले अस्पताल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखसहित ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।
यसैबीच घटनापछि अस्पताल भवनमा स्थानीयको घेरामा परेर थुनिएका १ जना प्रहरी निरीक्षकसहित करिब ३८ जना सरकारी कर्मचारीको उद्धार भएको छ । घटनापछि थुनिएका सरकारी कर्मचारीहरुको झन्डै दुई घण्टापछि सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । साढे १० बजेदेखि थुनिएका सरकारी कर्मचारीलाई झन्डै २ घण्टापछि सकुशल निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।











प्रतिक्रिया