बाल दिवसमा विविध कार्यक्रम: एक वर्षको अवधिमा १ हजार ९ सय १ गर्भपतन



नेपाल समाचारपत्र, काभ्रे ।

जिल्ला बाल न्याय क्षेत्र समन्वय समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा एक वर्षको अवधिमा १ हजार ९ सय १ गर्भपतन गराई भ्रुणदेखि नै बालिबालिकाको हत्या भएको बताउनुभएको छ । नेपाल बाल संगठन काभ्रेले आयोजना गरेको काभ्रेका बालबालिकाहरुको अवस्था तथा बालमैत्री जिल्ला निर्माणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

बालमैत्री भएका नगरपालिकाहरुको अभ्यासका आधारमा अन्य पालिकाहरुलाई बालमैत्री बनाउन र बालमैत्री जिल्ला घोषणा गर्दा बालबालिकाहरुको क्षेत्रमा भएका समस्याहरुको समाधानका लागि सरोकारवाला निकायहरु जिम्मेवार हुनुपर्नेमा तिमल्सिनाको जोड थियो । बालबालिकाहरु आफ्नै हत्या (आत्महत्या) तर्फ उन्मुख हुन थालेको, अपराधमा संलग्न हुन थालेको, जबरजस्ती करणी तथा लागूऔषध प्रयोग र ओसारपसारमा संलग्न हुन थालेको, अन्धविश्वासमा परेको, सडकमा बालबालिका जन्मन र अभिभावकका कारण सडकमा पुग्न थालेको, हराउने क्रम बढेकोप्रति पनि उहाँले सरोकारवालाहरूको उहाँले ध्यानाकर्षण गराउनुभएको थियो ।

वर्षेनी १ सयभन्दा धेरै बालविवाह हुने गरेको बताउँदै तिमल्सिनाले बालबालिकाहरु भविश्यका कर्णधार हुन् भन्ने ब्यवहारत देखाउन स्थानीय सरकारले नीति निर्माण र प्राथमिकतामा पार्नुपर्ने बताउनुभयो ।

अध्यक्ष विदुर हुमागाईंले नेपाल बाल संगठनले जिल्लाका विभिन्न सरोकारवाला निकायहरुसँगको समन्वयमा बालबालिकाहरुको अधिकारका लागि कार्य गरिरहेको बताउनुभयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले समग्र जिल्लालाई बालमैत्री बनाउन अभियान शुरु भएअनुरूप दुईवटा स्थानीय तह धुलिखेल र पनौती घोषणा भइसकेको जनाउनुभयो । स्थानीय तहसँगको समन्वयमा पालिकाहरुलाई बालमैत्री वातावरण निर्माणमा सहजीकरण गरिरहेको प्रमुख केसीको कथन छ ।

उपप्रमुख मञ्जु गौतमले बालबालिकाहरुका तमाम समस्याहरुलाई समाधान गर्न र बालमैत्री वातावरण तयार गर्न सबै पक्ष तयार हुन नसकेको बताउनुभयो । त्यस्तै, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जीवनका हरेक क्षेत्रमा बालबालिकाहरु जोडिने भएकाले सबै निकाय र क्षेत्रले बालबालिकाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

त्यसै गरी, प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अपराध न्यूनीकरण तथा बालबालिकाहरुको क्षेत्रमा संवेदनशील भई कार्य गरिरहेको बताउनुभयो । अनुसन्धानमा पनि प्रहरीले प्राथमिकतामा राखेको बताउँदै बालबालिकाहरुलाई सही मार्गमा लैजान विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम कोभिडको अन्त्यसँगै निरन्तर हुने उहाँको भनाय छ ।

कार्यक्रममा सिर्जनशील बाल क्लबका अध्यक्ष भुवन रायमाझी, बाल सञ्जालका अध्यक्ष सुबोध धिमाल, पनौती बाल सञ्जालकी पूर्वअध्यक्ष सरिता सापकोटा, नेपाल बाल संगठनका उपाध्यक्ष हरीशचन्द्र घिमिरेलगायतले बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने सबै संघ–संस्थासँगको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।

सोही अवसरमा बाल मन्दिर धुलिखेल र पाँचखालमा रहेका बालबालिबाहरुलाई संगठनको तर्फबाट शैक्षिक सामग्री वितरण गरिएको थियो ।
त्यसै गरी, जिल्लाको पहिलो बालमैत्री नगर धुलिखेल, दोस्रो नगर पनौती तथा अन्य पालिकाहरुमा बाल दिवसको अवसरमा विविध कार्यक्रम भएको थियो । धुलिखेलमा आयोजित कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले बालमैत्री नगर धुलिखेलमा रहेका बालबालिकहरुलाई अवसर तथा नीति निर्माणमा सहभागी गराएको बताउनुभयो ।

बालमैत्री पार्क निर्माण, बालबालिकाहरुलाई आवश्यक पर्ने खेलकुद सामग्री, उनीहरुको सुरक्षा र अन्य अवसरका बारेमा नगरपालिकाले नीतिगत व्यवस्था गरी बालबालिकाकै सुझाव र सल्लाहमा कार्यक्रमहरु तय गरिरहेको उहाँको कथन छ । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, बालबालिकाहरुको सक्रिय सहभागिता रहेको थियो । त्यस्तै, सोही अवसरमा नगरपालिकाले नगर बाल सञ्जाल पुनर्गठन गरेको छ भने पदाधिकारीहरुलाई स्वागत र बधाई कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्