सुमन र पुरमतिलाई मन्त्रालयको जिम्मेवारी



बुटवल, (नेस) ।

लुम्बिनी प्रदेशमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना बिनाविभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

बिनाविभागीय मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमति ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले बिनाविभागीय दुई मन्त्रीलाई मन्त्रालयको कार्यविभाजन गरिएको जनाएको छ ।

गत साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुँदा त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीन जना र स्वतन्त्र सांसद अजय शाही मन्त्री नियुक्त हुनुभएको थियो ।

तीमध्ये जसपाका रायमाझी र ढेंगा तथा स्वतन्त्र सांसद शाही बिनाविभागीय मन्त्री नियुक्त हुनुभएको हो । यसअघि मुख्यमन्त्री केसीले शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । अब बन्ने मन्त्रीहरूमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन/तीनजना मन्त्री र एक–एकजना राज्यमन्त्री नियुक्त गर्ने सहमति भएको छ । तर, दुवै पार्टीमा आकांक्षी धेरै जना हुँदा मन्त्री छान्न सकस भएको छ ।

प्रतिक्रिया दिनुहोस्