बाघले मान्छे खाएपछि त्रसित छ गाभर गाउँ



कुमार श्रेष्ठ, बाँके ।

‘दिउँसो गोठालो गएको मान्छे साँझ घर फर्किन्छ कि फर्किंदैन भन्ने भइसक्यो,’ गाभरका चन्द्र मगरले भन्नुभयो, बस्तीको छेउछाउमै बाघ आउन थालेपछि हामी त्रसित छौं ।’

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. १, गाभरमा सोमबार एकजनालाई बाघले खाएपछि अहिले गाउँ नै त्रसित भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको गाभरका सबैको भनाइ चन्द्रको जस्तै छ । चन्द्र भन्नुभयो– ‘घरपरिवारका सदस्य गोठालो जान्छन् । साँझ घर फर्किन्छन् कि फर्किंदैनन् तनाव हुने गरेको छ । दिउँसो मात्रै होइन, राती शौच गर्न निस्किदा पनि डर छ ।’

गाभरको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने भारतीय मूलका व्यक्तिलाई बाघले निकुञ्जभित्रको भट्टीखोलामा लगेर खाएको थियो । जहाँ उनको एउटा खुट्टा भेटिएको थियो ।

बाघ अझै पनि बस्तीको छेउछाउमा रहेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले मंगलबार पनि पूर्वपश्चिम राजमार्गको गाभरमा सडक क्रस गर्दा बाघ देखिएको जानकारी दिनुभयो । ‘पश्चिमबाट पूर्वतिर मोटरसाइकल जाँदै रहेछ । मोटरसाइकलको अगाडिबाटै बाघले बाटो काटेछ, वार्डेन शाहले भन्नुभयो, मोटरसाइकल चालकले झ्याप्प ब्रेक हानेर मोटरसाइकल रोकेपछि बाघसँग जम्काभेट भएनछ ।’ यो कुरालाई गाभरमा भने बाघले मोटरसाइकल चालकलाई आक्रमण गरेको भन्ने हल्ला फैलिएको थियो ।

स्थानीय प्रशासनले पूर्वपश्चिम राजमार्गको शिवखोला खण्डमा साँझ ७ देखि बिहान ६ बजेसम्म पैदल, मोटरसाइकल, साइकलमा यात्रा गर्न रोक लगाएको छ । दिउँसो पनि समूहमा बनाएर या ठूला सवारी साधनको बीचमा पारेर पठाउने गरिएको छ । निकुञ्ज प्रशासनले दुई वटा हात्ती लगेर बाघको निगरानी गरिरहेको छ । घटनास्थल आसपासमा ६ वटा क्यामेरा जडान गरेको वार्डेन शाहले जानकारी दिनुभयो । ‘हामीले ६ वटा क्यामेरा जडान गरेका छौं । मान्छे खाने बाघको अवस्था बुझ्छौं र आवश्यक परेमा त्यसलाई नियन्त्रणमा लिन्छौं, वार्डेन शाहले भन्नुभयो ।

गाभरमा केही महिनादेखि नै बाघले गाईवस्तु खाने गरेको थियो । जंगलमा चराउन लगेको बाख्रा घर फर्किंदैनथे । ‘जंगलमा चराउन जाँदा गाईबस्तु फर्किंदैनथ्यो, अब त गोठाला नै नफर्किने अवस्था आयो, स्थानीयवासी गणेशबहादुर खत्रीले भन्नुभयो, निकुञ्जले छिटो त्यो हिंस्रक बाघलाई समातेर थुन्नुपर्छ ।’

खत्रीले हिजो सय मिटर नजिकबाट नै बाघलाई देखेका थिए । मान्छे खाएको ठाउँमा चारपटक देखिएको थियो । ‘हामी त रातीमा मर्ने र दिउँसो जागा बस्ने भएको छ, खत्रीले भन्नुभयो, दिनमा गाडी चल्छ । मान्छेहरूको आवतजावत बढी हुन्छ । हामीलाई डर लाग्दैन । रातीमा सुनसान हुन्छ । केहीले खिस्रिक्क गरे पनि बाघ आयो कि भन्ने डर हुन्छ ।

बाघले पहिला जंगलमा गाईबस्तु खाने गरेकोमा अहिले बस्ती नजिक आएर खाने गरेको र हिजो त मान्छेलाई खाएको मगरको भनाई थियो । मान्छे खाएको बाघको निगरानी गर्न लागिपरेको निकुञ्ज प्रशासनले बाघलाई बस्ती छेउछाउमा आउन नदिन सचेतना बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्