अलपत्र अवस्थामा मुसहर बस्ती



विद्यानन्द राम, राजविराज ।

जनता आवास कार्यक्रमअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ लबापुरमा अतिविपन्न ३० परिवार मुसहरको आवास निर्माण कार्य अलपत्र परेको छ । आवासविहीन दलित समुदायका लागि निःशुल्क पक्की आवास निर्माण कार्य शुरु भएको ६ वर्षभन्दा बढी भइसक्दा पनि एउटै आवासले पूर्णता पाएको छैन ।

आर्थिक वर्ष ०७२/०७३ मा स्वीकृत भएर मुसहर बस्तीमा आवास निर्माण कार्य शुरु भएको थियो । जनता आवासको कार्यविधिअनुसार सो आवास सोही आर्थिक वर्षमा निर्माण हुनुपर्ने थियो । तर, ६ वर्षदेखि नै सो आवासहरु अलपत्र अवस्थामा छ । ‘आवास स्वीकृत भएसँगै सरकारले राम्रो घर बनाइदेला र बसौंला भन्ने आशा पलाएर भएभरको झुपडी पनि भत्काइदिए’, दशन सदाले भन्नुभयो– ‘झुपडी भत्काएपछि दुई वर्षसम्म चर्को घाम र कठ्याङ्ग्रिँदो चिसोको कहरसमेत खुला आकाशमुनि नै बितायौं ।’ सो अवधिमा घर बनाइदिन सबैतिर भौंतारिए पनि कहींकत्तैबाट सुनुवाइ नभएपछि फेरि सापटी तथा ऋण लिएर पुनः झुपडी नै बनाउनुपरेको उहाँले दुःखेसो पोख्नुभयो ।

त्यस्तै, अर्की लाभग्राही ललित सदाले निमुखा गरिबको पीडातर्फ कसैको ध्यान नपुगेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । ‘हामी निमुखा गरिबलाई हेर्ने को छ हजुर? सरकारी उदासीनताले पक्की घरमा बस्ने इच्छा पनि इच्छामै समेटियो’, उहाँले भन्नुभयो– ‘हाम्रो समस्याप्रति जनप्रतिनिधिलाई पनि वास्ता छैन, वास्ता गर्ने भनेको भोट हाल्ने बेला मात्रै हो ।’

उता, शहरी विकास तथा भवन कार्यालय राजविराजका सूचना अधिकारी तपेश्वरकुमार साहले पुरानो कार्यक्रम रहेको भन्दै जति प्रयास गर्दा पनि बनाउन नसकिएको प्रतिक्रिया दिनुभएको छ । पुनः स्थलगत अनुगमनपछि आवास निर्माण कार्य अघि बढाउने आफूहरुको योजना रहेको उहाँको कथन छ ।

तत्कालीन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले हेर्दै आएको सो कार्य मुलुक संघीय संरचनामा गएसँगै प्रदेश मातहत रहेको शहरी विकास तथा भवन कार्यालय राजविराजलाई जिम्मेवारी दिइएका थियो । कार्यक्रम कार्यान्वय गराउन जिल्लास्तरीय समन्वय समितिसमेत गठन भएको छ । तर, कार्यालय र समितिका पदाधिकारीहरुको हेलचेक्राइँका कारण ६ वर्ष विताएर पनि त्यहाँका एउटै आवासले पूर्णता नपाउँदा लाभग्राहीहरु निरास बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्