ललितपुर महानगरका विद्यालय असोज १ गतेबाट खुल्ने



ललितपुर, (नेस) ।

ललितपुर महानगरपालिकाले असोज १ गतेदेखि खुल्ने सामुदायिक विद्यालयका लागि मास्क र सेनिटाइजर उपलब्ध गराउने भएको छ । महानगर शिक्षा महाशाखाले आगामी असोज १ गतेदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेसँगै सामुदायिक विद्यालयको हकमा आवश्यकता र मागको आधारमा स्वास्थ्य सामग्री प्रदान गर्ने जनाएको हो ।

महानगरको नगर शिक्षा समितिको सोमबार बसेको बैठकले सो निर्णय महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्वन्धित सरोकारवालासँग छलफल गरी स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्णरूपमा पालना गरी विद्यालय सञ्चालन गर्ने जिम्मा विद्यालयलाई दिने निर्णय गरेको बताउनुभयो ।

विद्यालयले विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचा–२०७७ ले निर्धारण गरेका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्दै आफ्नो विद्यालयको भौतिक, शैक्षिक अवस्थाअनुसार कार्य योजना तयार गरी असोज १ गतेबाट पठनपाठनसम्बन्धी कार्य सञ्चालन गर्न विद्यालयलाई नै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

कार्यढाँचा तथा स्वास्थ्य मापदण्डका सम्बन्धमा अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालालाई विद्यालयले अभिमुखीकरण गराई सोको जानकारी महानगरपालिकामा पेस गर्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्