‘बजेट होलिडेले अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने’



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले आज बुधबारदेखि केही दिनका लागि राज्य कोषबाट खर्च गर्न नपाउने भएको छ । संसद्मा बजेट पारित नभई ‘बजेट होलिडे’ भएकाले केही दिन सरकारले खर्च गर्न नपाउने भएको हो । नेपालको संसदीय इतिहासमा यो पहिलो घटना भएको विज्ञहरू बताउँछन् ।

चालू आर्थिक वर्षका निम्ति पूर्ववर्ती सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । सो बजेटलाई प्रतिस्थापन गर्न वर्तमान सरकारले प्रतिस्थापन विधेयक ल्याए पनि निर्धारित अवधिभित्र पारित नगर्दा बजेट होलिडे हुने भएको छ ।

संसद्मा पेस भएको अध्यादेश ६० दिनभित्र दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण नभए स्वतः निस्क्रिय हुने कानुनी व्यवस्था छ । संसद्मा बजेट अध्यादेश टेबुल भएको भदौ ३० गते बुधबार ६० दिन हुन्छ । जेठ १५ गते बजेट प्रस्तुत भए पनि असार ३ गते मात्रै संसद्मा बजेट टेबुल भएको थियो । निर्धारित अवधिभित्र अध्यादेश पारित नहुनुका साथै बजेटलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकसमेत पारित भएको छैन ।

अर्थमन्त्री जनार्दन शर्माले गत भदौ २५ गते संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गर्नुभएको थियो । त्यस्तै, मंगलबार अर्थमन्त्रीले पेस गर्नुभएको विनियोजन विधेयक–२०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । उक्त प्रस्ताव स्वीकृत भएको ७२ घण्टापछि मात्रै विधेयक परिपक्व हुने व्यवस्था रहेको छ ।

संसद्को आगामी बैठक असोज ४ गते मात्रै बस्ने तय भएको छ । सबै प्रक्रिया ‘फास्ट ट्रयाक’ बाट अगाडि बढाए पनि विधेयक पारित हुन चार दिन लाग्ने भएकाले आगामी असोज ८ गतेसम्म बजेट होलिडेको अवस्था सिर्जना हुन सक्ने जानकारहरू बताउँछन् । संसद्ले प्रतिनिधिसभा कार्यसञ्चालन विनियमावली र राष्ट्रिय सभा कार्यसञ्चालन विनियमावली संशोधन गरेर विनियोजन विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको ७२ घण्टाअघि नै संसद् बैठक बस्ने र विनियोजन विधेयक पारित गर्न सक्ने बाटो पनि थियो । तर, सरकारले विपक्षी दलको सहमति लिन नसक्दा नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने तयारी गरेको छ । सत्ता पक्षसँग नियमावली संशोधन गर्न बहुमत रहे पनि त्यो बाटो अपनाउँदा थप द्वन्द्व हुने भन्दै सरकार अगाडि नबढेको स्रोतको भनाइ छ ।

उता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गर्ने प्रयास गरे पनि प्रतिस्थापन विधेयक र विनियोजन विधेयक हो–हल्लाका बीच संसद्मा पेस भएको थियो । भदौ ३० गतेभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारले खर्च रोक्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । ‘कर उठाउन विशेष व्यवस्था छ । त्यसअनुसार कर उठाउन सकिन्छ, केही दिन खर्च नहुन पनि सक्छ । तर, सरकारले पेस्की खर्च गर्दैन’, उहाँले भन्नुभयो– ‘पेस्की खर्च हुँदैन । अध्यादेश पनि आउँदैन ।’

बजेट होलिडेको स्थिति सिर्जना हुनुलाई सरकारको कमजोरीका रूपमा समेत अथ्र्याइएको छ । सत्तारूढ दल नेपाली कांग्रेसकै नेताहरूले सरकारले पेस्की खर्च विधेयक नल्याएर गल्ती गरेको बताउँछन् । जब सरकारले बजेट प्रतिस्थापन गर्न विधेयक ल्याउने भएपछि संसद्मा खटपट भइरहेको स्थितिमा आवश्यक तयारी गर्नुपर्नेमा त्यो नभएको उनीहरूको भनाइ छ ।

सरकार आफैंले जिम्मेवारी पूरा नगर्दा यो स्थिति सिर्जना भएको भन्दै एक पूर्वप्रशासकले नेपाल समाचारपत्रसँग भने– ‘राम्रो संकेत होइन ।’ १०–१५ दिनसम्म खर्च गर्न नसक्ने अवस्था भयो भने के हुन्छ भन्दै अर्थ मन्त्रालयका ती पूर्वप्रशासक भन्छन्– ‘तपाईंको खल्तीमा पैसा छैन, एटीएम पनि चलेन, बैंक खुल्न अर्को दिन कुर्नपर्छ । यो अवस्थामा घरमा खाद्यान्न सकियो वा बिरामी भइयो भने तनाव हुँदैन? हो, त्यस्तै स्थिति हो यो । सरकार विपक्षीसँग बढी लचिलो बन्न खोज्दा यस्तो भएको हो कि ढंग नपुग्दा यो अवस्था आएको हो उहाँहरूले नै जान्ने कुरा हो ।’

ससंद्बाट बाहिरिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै हिजोअस्ति देश जसरी चलेको थियो, त्यसरी नै चल्ने प्रतिक्रिया दिए पनि विधेयक पारित नहुँदा समग्र अर्थतन्त्रमा असर पर्ने विज्ञहरूको धारणा छ । विविधि कारणले देशको पुँजीगत खर्चको अवस्था राम्रो छैन । त्यसमाथि पनि समयमै बजेट पारित नहुँदा त्यसले दीर्घकालीन असर पार्ने उनीहरूको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारी खर्चको भूमिका महत्वपूर्ण हुन्छ । कोभिडको यस्तो महामारीका बेला सरकारलाई तत्कालै खर्च गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्