जनताको कर बालुवामा पानी



जनताले तिरेको करबाट देशैभरका सडकहरु निर्माण भएका छन् । अर्थ मन्त्रालयले हरेक आर्थिक वर्षमा भारी बजेट विकास निर्माणको लागि निकासा गर्छ । त्यही रकमले सडकमा कालोपत्रे हुन्छ । सडक कालोपत्रे गर्नको लागि सरकारले हरेक नगरपालिका, महानगरपालिका र वडालाई आवश्यकताअनुसार बजेट छुट्याएको हुन्छ ।

वडा, नगरपालिका, महानगरपालिकाले निर्माण व्यवसायीलाई महँगोमा बाटो निर्माण गर्ने ठेक्कापट्टा दिन्छन् । सडक विभागले त जनतालाई सेवासुविधा होस् भनेर बाटो निर्माणको प्रक्रिया अघि सार्छ तर त्यसले भने अर्कै रुप लिन्छ । असार मसान्तमा बजेट पारित हुन्छ । साउनदेखि सडक निर्माण कार्य ।

अहिले विकासको शुरुवात यहीँबाट हृन्छ । जसको कारण सडक निर्माण गरेको वर्षदिन नपुग्दै कालोपत्र निस्किन्छ । बजेट भने अर्थ मन्त्रालयले विकास निर्माणको लागि भारी छुट्याएको हुन्छ तर काम भने निकै कमसल हुन्छ । ठेकेदारले रकम अपुग भयो भन्दै काम आधा अधुरै छोडिदिन्छ ।

भएको बाटोमा पनि विकास निर्माणको लागि भनेर डोजर लाउँछन् तर कालोपत्रे भने डोजर लगाएर खनेको पाँच वर्षसम्म पनि पुरा हुँदैन । पहिलो वर्षमा बनेको बाटो बिगार्छन् । दोस्रो वर्ष फेरि त्यही बाटोमा डोजर लगाउँछन् । तेस्रो, चौथौ गर्दागर्दै वर्षौं बित्छ । तर सडक पिच भने वर्षौंसम्म हुँदैन । दुःख कसलाई भन्दा जनतालाई । बाटो हिँड्दा दुर्घटना नहोस्, महिलाहरुलाई घर जान सजिलो होस् भनेर सडक विभागले सडकछेउछाउ सोलार बत्ती जडान गरेको छ । सवारी दुर्घटना कम गर्नको लागि पनि सोलार बत्ती जडान गरेको हो ।

सडकमा सीसी क्यामेरा त छन् तर अधिकांश सीसी क्यामेराले काम गरेका छैनन् । कति बिग्रेका छन् भने कति काम नै नलाग्ने भइसकेका छन् । जनताले तिरेको कर बालुवामा पानी मिसाएजस्तो भएको छ । जनतालाई सेवासुविधा दिने नाममा करको ह्रास भइरहेको छ ।

सडकछेउछाउका सोलार बत्तीले काम नगर्दा राति आफ्नो जागिरबाट फर्किने सर्वसाधारणलाई निकै कठिन परिस्थितिको सामना गर्नुपरेको छ । धेरैजसो भित्री गल्लीहरुमा सोलार बत्ती जडान नै गरिएको छैन । बिग्रेका, काम गर्न छोडेका सोलार बत्तीहरु मर्मतसमेत गरिएका छैनन् । राति सडक दुर्घटना पर्नुको मुख्य कारण सोलार बत्तीको अभाव नै हो । सोलार बत्ती जडान तथा मर्मत–सम्भारको लागि हरेक वर्ष राज्यको ढुकुटीबाट अर्बौं रुपियाँ निकास हुन्छ । जसलाई केही बुद्धिजीवी र ठेकेदारहरुले कमाइ खाने भाँडो बनाएका छन् ।

हामीले जनताका लागि यो गरेका छौं, त्यो गरेका छौं भनेर नेपाल सरकार बडो गर्वका साथ छाती फुलाउँछ । तर सरकारले जनताको लागि नभई आफ्नो भ्रष्टाचारी कर्मचारी र ठेकेदारहरुको लागि मात्र काम गरेको छ । नाम जनताको काम आफ्नो पार्टीका कार्यकर्ताको ।

हाम्रो समाजमा रातको समयमा दैनिक नराम्रा घटनाहरु घटिरहेका छन् । त्यहीमाथि रातको समयमा केही भन्न सकिन्न । सरकारले एकातिर महिलाहरुलाई चाहिने सुरक्षाको पनि व्यवस्था गर्न सकेको छैन । सोलार बत्तीले रातको समयमा हुने सडक दुर्घटनालाई लिएर राति कामबाट अबेर फर्किने पैदल यात्रुहरुलाई समेत निकै सहयोग पुर्‍याउँछ ।

सवारीको चाप बढेको कारणले पनि आकाशे पुल अहिलेको आवश्यकता हो । सडक दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल र जेब्रा क्रसले निकै सघाउ पुर्‍याउँछ । हरेक सडकमा आकाशे पुलको निर्माण गरिदिने हो भने दुर्घटना निकै कम हुन्छ । ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्छ ।

केही वर्षअघि सरकार र महानगरले सडकछेउछाउ विभिन्न जातका रुखबिरुवा रोपेको थियो । उपत्यकामा मात्र नभई उपत्यकाबाहिरका सडकहरुमा पनि बोटबिरुवा रोप्ने कार्यक्रम भएको थियो । यसमा पनि राज्यले अर्बौं रुपियाँ खर्च ग¥यो । तर हेरचाहको अभावको कारणले कति बोटबिरुवा मरे । कति बोटबिरुवा मासियो । र, ती रोपेका बोटबिरुवाहरु जोगाउन सरकारले चासो दिएन । बोटबिरुवाहरुले हामी मानव जातिलाई अक्सिजन प्रदान गर्छ । हाम्रो आँखालाई पनि स्वस्थ बनाउँछ ।

बोटविरुवा मासिनु भनेको मानव जाति नाशिनु हो । बोटबिरुवा भएन भने हामीले अक्सिजन पाउँदैनौं । अक्सिजनविना मान्छे बाँच्न सक्दैनन् । यसबाट क्षति अरुलाई होइन, हामीलाई नै हुने हो । भएका जग्गाजमिन सबै मासिसकेका छन् । वनजंगल सबै फडाँनी गरेर सिद्धिसक्यो । सबै वनजंगल फडानी गरेर आवासीय क्षेत्रहरुको निर्माण भएका छन् । चौतारा, पाटीपौवा, धाराकुवा सबै शून्यकै संख्यामा झरिसकेको छ । पानीको मुहानहरु सुक्दै गएका छन् । सरकारले घर बनाए पनि अलिकति जग्गा छोडेर वृक्षरोपण गर्ने नीति ल्याएको पनि वर्षौं भइसक्यो । तर कसैले टेरेका छैनन् । भएका वरपीपलका रुखहरु पनि मासेर घर बनाएका छन् । रुखबिरुवाको महत्व कति छ भन्ने कुरा सबैले बुझेका छन् तर पनि बेवास्ता गरिरहेका छन् । रुखबिरुवा, वनजंगल सबै फडानी भइसक्यो । बाँकी रहेको अलिअलि वनजंगलमा पनि निर्माण कार्य भइरहेको छ ।

यसबाट हुने क्षति भोलिको दिनमा नेपालीले नै भोग्नुपर्ने हो । थाहा हुँदाहुँदै पनि मतलब नगर्ने । यो त एउटा जिम्मेवार नागरिकको संकेत होइन । अहिले त हाम्रो समाजमा तैंले घर बनाउने कि मैले घर बनाउने भन्ने होडबाजी चलिरहेको छ । तीन आना जग्गामा घर बनाउँछन् । खालि ठाउँ कहीँ पनि छोडेका छैनन् । तीन आना जग्गामा पाँचतले घर बनायो, भाडामा लगायो अनि त खुट्टा पसारेर खान पुगिहाल्छ । अनि त्यत्रो कोठाबाट निस्केको फोहोरचाहिँ सरकारले बटुल्नुपर्छ । केही दिन फोहोर उठाउन ढिला भयो भने घर–घरबाट निस्केको फोहोर सडकभर फालिदिन्छन् ।

घर बनाइसकेपछि बोटबिरुवा रोप्न मिल्नेजति जग्गा छोड्नुपर्छ । कम्पोस्ट मल बनाउने ठाउँको निर्माण गर्नुपर्छ । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको मात्र हो र ? हामी नागरिकको चाहिँ होइन ? तरकारीको बोक्रादेखि लिएर बढी भएको खानासम्म बाटोमा ल्याएर फ्याँक्ने गरेको देखिन्छ । सरकारले पनि जनतालाई सेवा–सुविधाको प्रत्याभूति गराउन सक्नुपर्छ भने जनता पनि आ–आफ्नो ठाउँबाट सक्षम हुन जरुरी देखिन्छ । यहाँ त घर बनाउने र भाडा उठाउने काम मात्र भइरहेको छ । भाडा बस्नेलाई र घरबेटीलाई चाहिएको आनन्द मात्र हो ।

पर्याप्त अक्सिजन चाहिन्छ भने एउटा घरमा कम्तीमा १५ वटासम्म बोटबिरुवा लगाउनुपर्छ । यदि यस्तो गर्न सक्यो भने हाम्रो देश पनि सुन्दर र सफा देखिन्छ । व्यवस्थित शहरीकरण हुन्छ । चराचुरुङ्गीहरुले पनि बस्ने बासस्थान पाउँछन् । शहर हरियाली हुनुको साथै हाम्रो स्वास्थ्यलाई पनि लाभ मिल्छ । मानव जातिले पर्याप्त मात्रामा अक्सिजन पाउँछन् ।

– अज्ञात शर्मा, कोटेश्वर ।

प्रतिक्रिया दिनुहोस्