अमृत अर्याल, स्याङ्जा ।
नेपाली काँग्रेसमा अहिले १४औँ महाधिवेशनको सरगर्मी बढेको छ । गुटगत भेला, कोरोना महामारीको समेत वास्ता नगरी सेमिनार र समीकरण बनाउने खेल शुरु भइसकेको छ । यही भदौ २७ गते गांउ तथा नगर अधिवेशन हुदैछ । महाधिवेशनको सरगर्मीसँगै स्याङ्जाका ११ वटा पालिकाहरुमा सभापति पदका लागि ३ दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् । कतिले सभापति दाबी गरेर पदाधिकारी सम्म पाइन्छ की भन्ने रणनिति बनाएको देखिन्छ भने कतिले साच्चै दाबि गरेर चुनौती दिन कस्सिएको पनि देखिएको छ । अहिले देखिएका आकांक्षीहरुको आन्तरिक रणनीति बनाउन र भेटवार्तामा व्यस्तताले काँग्रेसको यो महाधिवेशन पनि नेतृत्व चयनमै मात्र केन्द्रित हुने देखिएको छ ।
महाधिवेशनमा हुनुपर्ने सैद्धान्तिक बहस, छलफल हुने कुरा त असम्भव नै देखिन्छ । किनकी काँग्रेस नेतृत्व र अहिलेका नेताहरु नै त्यो वातावारण बनाइरहेका छैनन् र कसैलाई त्यो चासोको विषय पनि भएको देखिदैन । सधै सबै कांग्रेसीले भन्ने विपिको समाजवाद अब पुस्तक र भाषणमा मात्र सिमित देखिएको छ । जिल्लाका ११ वटै पालिकाहरुमा सबैको ध्येय पार्टीको नेतृत्व कब्जा गर्ने र आफ्नो गुट बलियो बनाउने नै छ । अहिले महाधिवेशनको सरगर्मी बढ्दै जादा छलफल र भेटघाट मात्र होइन पालिकामै पनि धेरैजसो नेताहरुले सम्पर्क कार्यालयसमेत खोलेका छन् ।
जिल्लाको भीरकोट नगरपालिकामा २ जना यूवानेता भावि सभापतिको तयारीको लागि आफू नजिकका कार्यकर्ता र शुभचिन्तकसँग सम्पर्क बढाउँदै आएका छन् । नगर सभापतीका उम्मेदवार वडा नं. ५ का वडाध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) र वडा नं. १ का वडाध्यक्ष दिपेन्द्र केसी कार्यकर्ता भेटघाट र आफ्नो पकड दह्रो बनाउनेमा ब्यस्त देखिन्छन् । सभापतीमा प्रतिस्पर्धा गरेका दुवैजना आँटिला यूवानेता हुन् । यामप्रसाद अधिकारीले अग्रज तथा साथीहरूको सुझाव सल्लाह अनुशार आफू अगाडि बढ्न तयार रहेको बताउनुभयो । अधिकारीले सबैसँग समीकरण बनाएर सभापती जसरी पनि बन्ने रणनीति बनाएको देखिन्छ । यस्तै भीरकोट कांग्रेसको नेतृत्व लिन तम्सिएका अर्का यूवा नेता हुन् : दिपेन्द्र केसी । यता वालिङ नगरपालिकाको सभापतीमा विपी विचार मंच वालिङका अध्यक्ष नेत्रप्रसाद पाण्डे र पार्टीका नगर सचिव भुपराज बगालेबिच तिव्र प्रतिस्पर्धा छ ।
जिल्लाको फेदीखोला गांउपालिकाको सभापतीमा महेन्द्रबाबु थापा र लालबहादुर अधिकारी आकांक्षी देखीएका छन् । विरुवा गांउपालिकामा युवराज केसी र डिआर पोख्रेल चुनाबी मैदानमा देखिएका छन् । यता हरिनाश गांउपालिकामा बहालवाला सभापती र उपसभापतीको भिडन्त हुने देखिएको छ । सभापतीमा अहिलेका सभापती टोपबहादुर चन्द (कृष्ण) र उपसभापती टोपबहादुर भूजेलको दावेदारी देखिएको छ । यता चापाकोट नगरपालिकामा भने हालसम्म ६ जनाले उम्मेदवारी घोषणा गरेको देखिन्छ । जसमा ज्ञानेश्वर बास्ताकोटी, ईन्द्रबहादुर शाही, अर्जुन खांण, रामबहादुर श्रेष्ठ, उत्तम आचार्य र कमलप्रसाद रेग्मी रहेका छन् ।
जिल्ला सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकामा सभापती पदका लागि ४ जना आकांक्षी देखिएका छन् । जसमा बिक्रन्त कुमार श्रेष्ठ, मनोज मल्ल, सुरजकुमार अधिकारी र दिर्घनारायण मरासिनी रहेका छन् । श्रेष्ठ, मल्ल र मरासिनी गोपालमान श्रेष्ठ निकट मानिन्छन् भने अधिकारी राजु थापा निकट रहेको स्रोतको दावी छ । यसैगरि गल्याङ नगरपालिकामा हालसम्म ६ जना उम्मेदवारले सभापती पदमा आफ्नो दावी गरेका छन् । जसमा हरीलाल खनाल, महेन्द्र श्रेष्ठ, भेगप्रसाद श्रेष्ठ, ढाकाराम न्यौपाने, श्याम बस्याल र शालिकराम बस्याल रहेका छन् । अर्जुनचौपारी गांउपालिकामा पनि ३ जना उम्मेदवार देखिएका छन् । जसमा बद्री पौडेल, फणीनारायण अर्याल र विष्णुप्रसाद काफ्ले रहेका छन् । यता कालीगण्डकी गांउपालिकामा सभापतीमा ७ जना आकांक्षी देखिएका छन् । जसमा होमप्रसाद पाण्डे (किसान), पशुपती पाण्डे, यामप्रसाद पाण्डे, नरबहादुर राना, होमप्रसाद भट्टराई, सुन्दर पाण्डे र पुरुषोत्तम पाण्डे रहेका छन् । यसैगरि आंधिखोला गांउपालिकामा २ जना मात्र उम्मेदवार देखिएका छन् । जसमा नविन ढकाल र नरेन्द्र पौडेल रहेका छन् ।











प्रतिक्रिया