तालिवानी सरकारलाई अन्तर्राष्ट्रिय मान्यता नदिन आह्वान



काबुल,(एजेन्सी) ।

अफगानिस्तानमा तालिवानले नयाँ अन्तरिम सरकार घोषणा गर्दै मुलुकलाई पनि ‘इस्लामिक इमिरेट’ घोषित गरेको छ । आफ्नो आन्दोलनका संस्थापकहरूमध्ये एक मुल्लाह मोहमद हस्सन आखुन्दलाई निमित्त प्रधानमन्त्री तोकेको छ । मन्त्रीमण्डलमा सन् २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा भएको आक्रमणविरुद्ध लड्दै आएका थुप्रै व्यक्तिलाई संलग्न गरिएको छ ।

तर, अफगानिस्तानस्थित तालिवान विरोधी फौजले अन्तर्राष्ट्रिय समुदायलाई तालिावानद्वारा घोषित सरकारलाई मान्यता नदिन आह्वान गरेको छ । अमेरिकाले पनि अमेरिकी फौजमाथि आक्रमण गर्ने व्यक्तिहरू मन्त्रीमण्डलमा समावेश भएकोमा चिन्ता प्रकट गरेको छ । युरोपेली संघ (ईयू) ले पनि तालिवानले ‘प्रतिनिधिमूलक र समावेशीयुक्त’ सरकार बनाउने वचन पूरा नगरेको भन्दै आपत्ति जनाएको छ ।

अमेरिकी संघीय जाँचबुझ ब्युरो (एफबीआई) को खोजीको सूचीमा रहेका तथा हक्कानी लडाकु सञ्जालका नेता साराजुद्धिन हक्कानीलाई गृह मन्त्री नियुक्त गरिएको छ । महिला मामिला मन्त्री नियुक्त भइसकेको छैन, साथै मन्त्रीमण्डलमा अझैसम्म कुनै पनि महिलालाई सहभागी गराइएको छैन । तीन साताअघि अमेरिकी नेतृत्वमा रहेको पश्चिमी गठबन्धन फौज स्वदेश फर्केपछि तालिवानले अफगानिस्तान कब्जा गरेको थियो ।

यसैबीच तालिवान सर्वोच्च कमान्डर हिबातुल्लाह आखुन्दजादाले नयाँ सरकारलाई अफगानिस्तानमा सरिया कानुन लागु गर्दै इस्लामिक नियमहरू पालना गराउन निर्देशन दिएका छन् ।

अंग्रेजी भाषामा जारी गरिएको एक विज्ञप्तिमा कमान्डरले मुलुकको सर्वोच्च हित रक्षा गर्न तथा दिगो शान्ति, समृद्धि र विकासको सुनिश्चितता गर्न पनि जोड दिएका छन् ।

तालिवान सत्तामा पुगे यताको सर्वोच्च नेताको यो पहिलो औपचारिक सन्देश हो । अन्तरिम प्रधानमन्त्री आखुन्द नब्बेको दशकमा तलिवानको शासनकालको दौडान कान्दाहारका गभर्नर रहेका थिए । अन्तर्राष्ट्रिय समाचार निकाय एएफपीका अनुसार संयुक्त राष्ट्रसंघको कालो सूचीमा रहेका छन् । ओमारको उमेर साठीको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्