रोशन पराजुली, हेटौंडा ।
आफू स्पष्ट अल्पमतमा रहेकै बेला वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले सरकार गठनको २१ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । मन्त्रिपरिषद् बिस्तार भएसँगै वागमती प्रदेशको मन्त्रिपरिषद् अब १२ सदस्यीय भएको छ । नवनियुक्त १० मन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्नुभएको छ ।
नवगठित मन्त्रिपरिषद्मा काठमाडौंका डा. अजयक्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने दोलखाकी रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसै गरी चितवनका विजय सुवेदी सामाजिक विकासमन्त्री र रामेछापका शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको छ ।
सिन्धुलीका प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्यमन्त्री र काभ्रेका चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरिएको छ । नियुक्त ६ मन्त्रीलाई प्रदेश प्रमुख यादव शर्माले शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई अलग बनाएर कटुवाललाई नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री शाक्यले ललितपुरका जीवन खड्का, भक्तपुरकी सरस्वती बाटी, मकवानपुरकी जुनेली श्रेष्ठ र नुवाकोटका बद्री मैनालीलाई राज्यमन्त्री नियुक्त गर्नुभएको छ । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्यमन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त हुनुभएको हो । नवनियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री शाक्यले शपथ ग्रहण गराउनुभएको थियो ।
शाक्य मुख्यमन्त्री नियुक्त भएकै दिन भदौ २ गते मन्त्री बनाइनुभएका कृष्णप्रसाद शर्मा खनालले एकीकृत समाजवादी रोज्दै मन्त्रीबाट राजीनामा दिएसँगै शाक्य नेतृत्वको सरकार २ सदस्यीयमा सीमित थियो । सोही दिन मन्त्री नियुक्त हुनुभएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
एमालेका १३ सांसदले माधव नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) रोजेसँगै वागमती सरकार अल्पमतमा छ ।
वागमतीमा एमालेका ५६ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका २३, कांग्रेसका २२, अन्य साना दलका ७ र १ स्वतन्त्र सांसद् छन् । नेकपा एमाले विभाजनपूर्व प्रदेशमा नेपाल पक्षीय नेतृत्व सम्हाल्दै आउनुभएकी शाक्यले मुख्यमन्त्रीमा टिकिरहन नेपालको साथ छाड्नुभएको थियो ।
नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बन्नुभएकी शाक्यको सरकार भने अल्पमतमा परिसकेको छ । उहाँले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । हाल कांग्रेस, माओवादी र एकीकृत समाजवादीको संयुक्त गठबन्धन छ । उक्त गठबन्धनले शाक्यलाई विश्वासको मत दिने सम्भावना न्यून छ । अन्य साना दल र एक स्वतन्त्र सांसदले समर्थन गरे पनि बहुमत पुग्ने अवस्था रहँदैन ।
त्यसैले बुधबार अधिकांश तत्कालीन नेपाल पक्षका सांसदहरूलाई मन्त्री नियुक्त गरिँदा मुख्यमन्त्री शाक्यले सरकार टिकाउने कसरत जारी राखेको देखिन्छ । शाक्य पहिला नेपाल समूहमा हुनुहुन्थ्यो । तर, आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उहाँले एमालेकै साथ दिनुभएको हो ।
आफैँ अल्पमतमा रहेको सरकारले मन्त्रिपरिषद् बिस्तार गरेको भन्दै राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि सरकारसँग आवश्यक कुनै गुण नभएको विपक्षी दलका सांसदहरू बताउँछन् । उनीहरूले वर्तमान सरकारलाई ‘पाहुना सरकार’ को संज्ञा दिएका छन् ।
शपथ ग्रहणमा पत्रकारलाई प्रदेश प्रमुखको कार्यालय प्रवेशमा रोक लगाइएको थियो । त्यसपछि पत्रकारले बाहिरै विरोधमा धर्ना दिए । जग्गा र होटल व्यवसायीलाई उक्त कार्यक्रममा सहज प्रवेश दिइयो तर पत्रकारलाई रोक लगाइयो । बाहिरै बसेर पत्रकारहरूले सूचनाको सहज पहुँचमा पुग्ने व्यवस्था मिलाउन माग गरेका थिए ।
पत्रकारलाई समाचार संकलनमा रोक लगाइएपछि नेपाल पत्रकार महासंघ मकवानपुरको अगुवाइमा प्रदेश प्रमुखको कार्यालयको मुख्य द्वारमा पत्रकारहरूले धर्ना दिएका थिए । पत्रकारलाई शपथ ग्रहणमा रोक लगाइएकोमा विरोधस्वरूप धर्ना दिइएको नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले बताउनुभयो ।











प्रतिक्रिया