नेपाल समाचारपत्र, काठमाडौं ।
अघिल्लो महाधिवेशनमा गरेका प्रतिबद्धताहरु पूरा नगरेपछि पुनः नेतृत्व लिने रणनीतिमा लाग्नुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको इमानदारितामाथि जिल्ला सभापतिहरुले प्रश्न उठाएका छन् । १४औं महाधिवेशनको संघारमा रहेको कांग्रेसका संस्थापनइतर पक्षका नेताहरुले सभापति देउवाले १३औं महाधिवेशनबाट नेतृत्व लिनुअघि गरेका प्रतिबद्धताहरुको व्यापक छलफल गर्ने भएका छन् ।
१२औं महाधिवेशनपछि पार्टीभित्र आन्तरिकरूपमा ६०/४० को भागवण्डामा राजनीति गर्दै आउनुभएका सभापति देउवाले १३औं महाधिवेशनमा नेतृत्वको दाबी गर्दै विभिन्न प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सुदृढ कांग्रेसका लागि सबल नेतृत्व भन्दै देउवाले नेपाली कांग्रेस पार्टीभित्र रहेको विभाजित मानसिकतालाई अन्त्य गर्न न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै पार्टीका हरेक नेता र कार्यकर्ताको मूल्यांकन योगदान, सक्रियता र लोकप्रियताका आधारमा गर्ने व्यवस्थालाई संस्थागत गर्ने बताउनुभएको थियो ।
यति मात्र होइन कांग्रेसभित्र ‘महारोग’ का रूपमा रहेको क्रियाशील सदस्यता विवादलाई अन्त्य गर्ने कुरालाई पनि सभापति देउवाले प्रमुखताका साथ सम्बोधन गर्ने प्रतिबद्धता गर्नुभएको थियो । हरेक विषयमा बँुदागतरूपमा लिखित प्रतिबद्धता गर्नुभएका देउवाले १३औं महाधिवेशनको संघारमा भन्नुभएको थियो– ‘पार्टीको क्रियाशील सदस्यता दिने विषयलाई लिएर हुने गरेको अनिश्चितता र असुरक्षाको स्पष्ट मापदण्डको आधारमा क्रियाशील सदस्यता दिने व्यवस्थालाई संस्थागत र पारदर्शी बनाइनेछ ।’ अहिले क्रियाशील सदस्यता पारदर्शी नभएको भन्ने विवादले शुरु भइसकेको अधिवेशन प्रक्रिया नै अन्योल बनिरहेको छ ।
‘पार्टीको क्रियाशील सदस्यताको अद्यावधिक गर्ने र पार्टीको निर्वाचनलाई लिएर हुने गरेको अनिश्चितता अन्त्य गर्न र स्वतन्त्र एवं निष्पक्ष ढंगले पार्टी तथा भ्रातृ संगठनहरूको निर्वाचन सम्पन्न गर्न पार्टीको आफ्नै स्थायी निर्वाचन आयोगको व्यवस्था गरिनेछ ।’ –देउवाको प्रतिबद्धतामा उल्लेख छ । १४औं महाधिवेशनमाको संघारमा सभापति देउवाले अघिल्लो महाधिवेशनपूर्व गरिएका प्रतिबद्धताबारे प्रतिक्रिया दिँदै काभ्रे जिल्ला सभापति मधु आचार्य भन्नुहुन्छ– ‘समस्यालाई सही ढंगले देखेको तर समाधानका लागि आफैंले गरेको प्रतिबद्धताको कार्यान्वयनमा इमानदारिता देखाउनुभएन ।’
पुनः नेतृत्व लिने रणनीतिमा लाग्नुभएका सभापति देउवाको इमानदारितामाथि महाधिवेशनमा उठाउनुपर्ने प्रश्नहरु प्रशस्त रहेको भन्दै नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी भन्नुहुन्छ– ‘सभापति देउवाले १३औं महाधिवेशनमा प्रतिबद्धता गर्नुभएको जुझारु भ्रातृ संगठन निर्माण, गतिशील विभागहरुको अवस्थाबारे महाधिवेशनमा छलफल हुन्छ ।’ ‘भ्रातृ संस्थाहरु अहिले जस्तो लथालिंग पहिले कहिल्यै थिएन । समयमा विभागसमेत गठन गर्न नसकेर आलोचित बन्नुभएको सभापति देउवाले विभागमा बिनामापदण्ड व्यक्तिको नियुक्ति गर्ने क्रमले विभागको हैसियतको हुर्मत लिने काम भएको छ’, उहाँ भन्नुहुन्छ– ‘नेपाली कांग्रेस पार्टीलाई युवा वर्गको आशा र भरोसाको केन्द्र बनाउन जरूरी छ । पार्टी विधानको व्यवस्थालाई अक्षरशः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुक समर्थकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउन आवश्यक । सभापति देउवाकोे प्रतिबद्धता र कार्यान्वयनमा इमानदारिताबारे जिल्ला सभापतिहरुले प्रश्न उठाउने बताएका छन् । पार्टीभित्र मूल्यांकन पद्धतिलाई संस्थागत गर्न देशभरिका पार्टी कार्यकर्ताको विशेषता र योगदानको वैज्ञानिक अभिलेख राखिने, देश र देशबाहिर रहेका पार्टीका शुभेच्छुक र समर्थकको योग्यता र उपयोगितासहितको अभिलेख पनि तयार गरिनेछ र उनीहरूको योग्यता र सीपलाई पार्टी निर्माणमा प्रयोग गरिनेछ जस्ता प्रतिबद्धता पनि सभापति देउवाले कार्यान्वयन नगरेको जिल्ला सभापतिहरुको आरोप छ ।
जिल्ला सभापतिहरु समूहगतरूपमा भेला भएको बेला नेपाली कांग्रेस पार्टीका बुद्धिजीवी तथा शुभेच्छुकहरूको विचार समूह (थिंक ट्यांक) को अवधारणालाई संस्थागत गरी पार्टी नीति र राष्ट्रिय नीतिनिर्माणमा विचार समूहबाट आएको सुझावको उपयोग पूर्णरूपमा गरिनेछ भन्ने सभापति देउवाको प्रतिबद्धता पनि पूरा नभएका बारेमा पनि छलफल हुने गरेको काभ्रे जिल्ला सभापति आचार्यले जानकारी दिनुभएको छ ।











प्रतिक्रिया