मन्त्री भुसालद्वारा रुद्रायणी मन्दिरको शिलान्यास



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको ऐतिहासिक बस्ती खोकना अवस्थिति रुद्रायणी मन्दिरको पुनःनिर्माणको लागि बुधबार शिलान्यास गरिएको छ। बज्रयानी बौद्ध पुजाविधि बज्रचार्य गुरुजुबाट पाठ गरी मन्दिरको जग रहेको स्थानमा शिलान्यास गरिएको हो । ललितपुर क्षेत्र नं ३ का सांसद् एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले शिलान्यास गर्नुभयो ।

सो अवसरमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन, उपमेयर गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला, पुरात्तत्व विभागका महानिर्देशक दामोदर गौतम, गुठी संस्थान ललितपुरका प्रमुख खिमा वली लगायतको उपस्थिति रहेको थियो ।मन्दिर पुनःनिर्माणको लागि चालू आर्थिक वर्षको बजेटमा पुरात्तत्व विभागबाट १ करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले १ करोड विनियोजित गरेको ललितपुर महानगरपालिका वडा– २१ का वडाअध्यक्ष रवीन्द्र महर्जनले बताउनुभयो ।

दुई वर्षयता सो मन्दिर भत्काउन, ऐतिहासिक सामग्रीहरुको व्यवस्थापन, मन्दिरको मुख्य देवताको व्यवस्थापनको कार्यमा १ करोड २५ लाख रुपैयाँ खर्च भइसकेको पनि वडाअध्यक्ष महर्जनले बताउनुभयाे  । सो खर्च महानगरपालिकाले व्यहोरेको थियो ।उपत्यकाको ऐतिहासिक बस्तीको मध्यभागमा अवस्थिति रहेको सो मन्दिर २०७२ साल बैशाख १२ गतेको भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।क्षतिग्रस्त मन्दिर पुनःनिर्माणको लागि स्थानीयले चरणबद्ध रुपमा प्रयास गर्दै आएको थियो । सो मन्दिरसंंग खोकनाको जात्रा, पर्व र विभिन्न नाच जोडिएको छ ।सातौं शताब्दीदेखिको इतिहासको बोकेको खोकनाको जीवनशैली, संस्कारमा रुद्रायणी देवीको विशेष स्थान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्