देश बनाउन युवाहरुले नै नयाँ भिजन ल्याऔं



पहिलो कुरा त हामीले देशमा रहेको अथाह स्रोतलाई हामी नेपालीको श्रम र पसिना लगानी गरेर आफ्नै सीप र ज्ञानबाट सदुपयोग गरी देशलाई समृद्ध एवं जनतालाई धनी बनाऔं । नेपाललाई विकासशील राष्ट्रको तहमा पु¥याऔं । नेपाललाई शक्ति राष्ट्रको हाराहारीमा पुर्‍याउन निरन्तर र अथक मेहनतमा जुटौं ।

मेरो विनम्र आग्रह र आशा छ– युवा सांसद तथा युवा कार्यकर्ताहरु यो कुरामा सहमत हुनुहुनेछ । देशमा रहेको सम्पत्ति अरुलाई सुम्पने प्रयास नगरौं । देशका जनता दह्रा पाखुरा भएका छन् । विदेशमा गएर आफ्नो श्रम र पसिना खर्चिरहेका छन् । काम दिएपछि उनीहरु नेपालमै आफ्नो श्रम, पसिना खर्चन तयार छन् । त्यसै गरी नेपालमा लुकेर रहेका राष्ट्रको सम्पत्ति अरुलाई नसुम्पौं । हामीले गर्न नसके पनि हाम्रा सन्ततिका लागि त्यो अमूल्य सम्पत्तिको खाँचो छ ।

यसको सदुपयोग र समृद्धिका लागि आवश्यक भिजन तयार पारिनुपर्छ । त्यो भिजनले हामीलाई विकास, निर्माण र उन्नतिको पथमा डोर्‍याउनुपर्छ । यसका लागि नेपाल विकासको सिस्टम बनाऔं । यसले हामीलाई आत्मनिर्भर बनेर बाँच्न सिकाओस् । अरुको भरमा परेर लम्पसार हुने प्रवृत्तिको अन्त्य होओस् ।

युवा सांसद तथा कार्यकर्ताज्युहरु ! अफगानिस्तानको भाग्य र भविष्य हामीले देखिसक्यौं । त्यहाँको खानी र सम्पत्ति सिद्धिइसकेपछि विदेशीले सेना फिर्ता लान खोजेको थियो । जनतामा आक्रोश र बदलाभाव कायमै थियो । त्यसैले आफ्नो घर फर्किइरहेको सेनामाथि उनीहरुले आक्रमण गर्न पुगे । नेपालका शीर्षस्थ नेताहरुको भर पर्न सकिने अवस्था नभएका बेला युवा सांसदहरुले यस कुरामा गम्भीरताका साथ सोच्नुपर्छ । जानिफकार आफैं हुनुहुन्छ ।

युवाहरुले बेलैमा सोच्नुपर्छ कि शीर्षस्थ नेताहरुले देशलाई कहाँ लाँदै छन् ? दीर्घकालीनरुपमा देशलाई सफलतापूर्वक हिँडाउन खोजेका छन् कि छैनन् ? नेतृत्वले कता लाँदै छ देश र जनता ? आखिर देश बचाउन र देश विकास गर्न दीर्घकालीन र अल्पकालीन सोच तथा कार्यक्रमहरुको आवश्यकता छ । हाम्रो प्राकृतिक तथा भौगोलिक बनावटले पनि यही तरिकालाई सही हो भनिरहेको अनुभूत हुन्छ । हामी सानो दिमाग बोकेर अनि छोटो बाटो हिँडेर कहीँ पनि पुग्दैनौं । त्यसैले हामीमा दीर्घ सोचाइ हुनुपर्छ । हामीले गर्ने कार्यले हाम्रा भावी सन्ततिलाई फाइदा पुगोस् । हाम्रै कारण उनीहरुले तड्पिनु नपरोस् ।

देशमा हामीले मिलेर काम गरेमा उन्नति हुने देखिन्छ । विभिन्न बहाना र निहुँमा विदेशीलाई देशमा हुलेर केही पनि हुने देखिँदैन । युवाहरुले विदेशीको हस्तक्षेप र प्रवेशलाई मूर्दावाद भन्नै पर्छ । यो खास गरी युवा सांसदहरुले भन्न सक्नै पर्छ । किनकि हामी जनताले देश र हाम्रो रक्षाका लागि मत दिएर संसद्मा पठाएका हौं । शीर्ष नेताहरुले यो कुरा बुझ्न नसकेका होइनन्, बरु बुझेर लाज पचाएका हुन् । तर युवाहरु देशका भविष्य हुन्, उनीहरुले यो कुरालाई बेलैमा स्वीकार गर्न सक्नुपर्छ ।

जनताको मतको मूल्यबोध युवा सांसदहरुमा हुनेछ । युवा सांसदहरुले देशको भविष्य देख्न सक्नुपर्छ । ढिलो भए पनि तपाईंहरुले गल्ती सच्याउन प्रयास गर्नै पर्छ । त्यो बाटोमा अघि बढ्नै पर्छ । अहिलेका शीर्ष नेताहरुको तरिकाभन्दा भिन्न तरिकाले तपाईंहरु अघि बढ्नै पर्छ । देश अबका दिनमा गाईजात्रे तालले चल्ने देखिँदैन । त्यसैले अहिलेदेखि नै सबजना होसियार होऔं ।

नेपालमा पार्टीहरु फुटे वा फुटाइए । नेताहरु बिक्री भए वा किनिए । एकले अर्कालाई कारबाही गरेको नाटक गरे । हामी जनतालाई कुनै पनि कुरा राम्रो लागेको छैन । नेताहरुलाई यदि पद र प्रतिष्ठा चाहिएको हो भने देश र जनताविनाको त्यो प्रतिष्ठा कसरी हासिल होला ? उनीहरुले यो कुरा बुझ्नै पर्छ । अहिले देश कसरी बचाउने र जनता कसरी एकजुट बनाउने हो भन्ने पीरभन्दा पनि देशमा विदेशी कसरी भित्र्याउने भन्ने पीर नेताहरुमा देखिएको छ । यस्ता नेताहरुविरुद्ध युवा सांसदलगायत हामी नेपाली नै लाग्नुपर्ने टड्कारो आवश्यकता भएको छ ।

युवा सांसदहरु ! तपाईंहरुले अहिलेका शीर्ष नेताहरुको पदचाप पछ्याउन छाड्नुपर्छ । देश र जनतालाई आत्मनिर्भरता र स्वाभिमानको बाटोतिर डोर्‍याउनुपर्छ । यसका लागि तपाईंहरुले उनीहरुको दौराको फेर समाएर वरिवरि घुम्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ । तपाईंहरु पदलोलुप बनेर चाकरी र चाप्लुसीमा लाग्नुहुँदैन ।

देश अझै पनि ताजा छ, ज्युँदो छ र ज्युँदा नेता तथा सांसदतिर आशाका आँखा फिँजाएर हेरिरहेको छ । शीर्षनेताहरु अब देशका आँखाबाट ओझेल परिसकेका छन् । जनता पनि यिनीहरुबाट केही काम हुन सक्ने आशामा छैनन् । नेपाल आमा आफ्ना नेपाली छोराछोरी आफ्नै काखमा खेलेको र खुशी भएर रहेको हेर्न चाहेकी छिन् । त्यसैले युवाहरुले नयाँ विकल्प दिनै पर्छ । यो विकल्प देश र जनताका लागि जीवन बुटी बन्नुपर्छ ।

शीर्ष नेताहरुको भाषणमा केही पनि बाँकी रहेन । सबै कुरा नेपाल र नेपालीका लागि पूरा भयो । तर अन्ततः देश पनि रहन्छ वा रहँदैन भन्ने अवस्था सिर्जना हुन गयो । यो विडम्बनाको अन्त्य हुनुपर्छ । यसका लागि नयाँ भिजन निर्माण हुनुपर्छ । यसका लागि युवा सांसद र कार्यकर्ताहरु तयार हुनुपर्छ । नयाँ भिजनले देशलाई बाटो देखाउनुपर्छ र देशको साधन–स्रोत देशकै लागि उपयोग हुने नीति र कार्ययोजना कार्यान्वयनमा ल्याइनुपर्छ । यो अहिलेको आवश्यकता हो ।

अहिले हामीलाई पनि पछुतो लाग्न थालेको छ कि हामीले एकजना पनि देशको र जनताको माया गर्ने सांसद छानेर पठाउन सकेका रहेनछौं ? किनभने कोही पनि देश र जनताको पक्षमा दृढ भएर निरन्तर लागिरहेको देखिएन । त्यसैले स्वार्थी नेतृत्वबाट यो सम्भव पनि देखिएन । अहिले कोही पार्टी अध्यक्ष बन्न, कोही पार्टी सभापति बन्न, कोही अरु मन्त्री बन्न र अरु कोही दल अदलबदल गर्न, नेता कार्यकर्ता चोर्न र फकाउन तल्लीन रहँदा डुब्न लागेको देश र दुःख पाइरहेका जनताको पक्षमा कोही पनि खुलेर लागेको देखिएको छैन ।

युवा सांसद महोदय ! तपाईंहरु देशमा भैरहेको भ्रष्टाचारको विरुद्धमा उठ्न सक्नुपर्छ । यसका साथै देशमा भैरहेको अन्याय र अत्याचार अन्त्य गर्न लाग्नुपर्छ । देशमा रहेको विकृति र विसंगतिविरुद्ध लडेर त्यसको अन्त्य गर्न नेतृत्व गर्नुपर्छ । नेपाली जनताका आशा र भरोसा अहिलेका लागि तपाईंहरु नै हुनुहुन्छ । । त्यसमा जनताको सदा साथ रहनेछ ।

– मीठाराम पौडेल, जफे–६, दोलखा ।

प्रतिक्रिया दिनुहोस्