पानीका लागि बालिकाहरू नाङ्गै डुलाइए



नयाँदिल्ली,(एजेन्सी) ।

मध्य भारतको एउटा गाउँको पानी आह्वान गर्ने परम्परागत रिवाज निभाउने क्रममा छ जना नाबालिकालाई लुगा खोल्न लगाई नाङ्गै गाउँ डुलाइएको छ । मध्य प्रदेश राज्यको बुन्देलखाड क्षेत्रको खडेरीग्रस्त गाउँमा यस्तै अनौठो घटना घटेको हो ।

भ्यागुतो बाँधिएको काठको कृषि औजार काँधमा बोकेर यसरी नाबालिकाहरूले गाउँमा नाङ्गै पदयात्रा गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । स्थानीय बासिन्दाहरू यो विधि पुर्‍याइएपछि वर्षाका देवता खुशी हुने र पानी पर्न थाल्ने विश्वास गर्दछन् ।

भारतको बाल अधिकार प्रतिरक्षा राष्ट्रिय आयोगले सो गाउँ रहेको दामोह जिल्लाको स्थानीय प्रशासनलाई यसबारे प्रतिवेदन बुझाउन अनुरोध गरेको छ । मध्य प्रदेश प्रहरीले उक्त घटना सम्बन्धमा कुनै औपचारिक उजुरी नै नपरेको स्पष्ट पारेको छ । दामोह प्रहरी उपरीक्षक डीआर टेनिवारले प्रेस ट्रस्ट अफ इन्डियाले यदि कुनै पनि बालिकालाई यसरी नाङ्गै सार्वजनिक स्थलमा हिँडाइएको पाइएमा कडा कारबाही गरिने जानकारी दिएका छन् ।

उक्त विवादास्पद भिडियोमा ती बालिकासँगसँगै केही महिलाहरू राग अलाप्दै हिँडिरहेको देखिन्छ । कोही बालिका त मात्र पाँच वर्षका देखिन्थे । सो बालिकाको जुलुसले गाउँका घर घर सामु रोकेर दाल चामल संकलन गरेको थियो । सो खाद्यान्न स्थानीय एउटा मन्दिरको सामुदायिक भान्छालाई सहयोगस्वरूप दिइएको थियो । यस जुलुसमा सहभागीमध्ये एक महिलाले यस संस्कारका कारण अब पानी पर्ने विश्वास पीटीआईसमक्ष प्रकट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्