काबुलमा प्रर्दशन बिथोलियो, पत्रकारहरू पक्राउ



काबुल,(एजेन्सी) ।

इस्लामिक तालिवान लडाकुहरूले मंगलबार अफगानिस्तानको राजधानी काबुलमा विशाल जनप्रदर्शनलाई तितरबितर पार्ने उद्देश्यले भीडलाई तर्साउन हवाईफायर गरेका छन् । सार्वजनिक भएको भिडियो फुटेजमा मानिसहरू ज्यान जोगाउन भागाभाग गरेको देखिन्छ । साथै पृष्ठभूमिमा भीषण गोली चलेको सुनिन्छ । तालिवान शासनको विरोध गर्न र महिलाहरूको हक हित तथा अधिकारको माग गर्न सडकमा आयोजित विरोध प्रदर्शनमा हजारौँ व्यक्तिको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीहरूले पाकिस्तान विरोधी नाराहरू पनि लगाएका थिए । किनभने थुप्रै अफगान जनताले तालिवानलाई पाकिस्तान सरकारको सहयोग र समर्थन रहेको विश्वास गर्छन् । तर, पाकिस्तानले आफूमाथि लगाइने गरेको यस्तो आरोप अस्विकार गर्दै आएको छ ।

रेजिस्टेन्स फोर्सका नाइके अहमद मास्सोदले तालिवानविरुद्ध शसक्त रूपमा ‘राष्ट्रिय आन्दोलन’ को आह्वान गरेको भोलिपल्टै यो विशाल प्रदर्शनको तयारी भएको हो । अफगानिस्तानको तोलो समाचार निकायका अनुसार पत्रकारहरूलाई मंगलबारको र्‍यालीको भिडियो खिच्न रोक लागाइनुका साथै केही स्थानीय तथा विदेशी सञ्चारकर्मी लगायत तोलाकै पनि एकजना क्यामेरा म्यानलाई गिरफ्तार गरिएको छ ।
अमेरिकाको नेतृत्वमा रहेको गठबन्धन फौजले अफगान भूमि छाडेपछि छोटो समयमै तालिवानले सम्पूर्ण अफगानिस्तानमाथि कब्जा गरेको थियो । त्यसपछि तालिवानको हिंसात्मक प्रतिशोधको डरले हजारौँ अफगान जनताले देश छाडिसकेका छन् ।

यसैबीच अझैसम्म काबुलमा तालिवानले नयाँ सरकार घोषण गर्न बाँकी नै रहे तापनि नयाँ सरकार गठन कार्यक्रममा सहभागी हुन तालिावानले छवटा साझेदार मुलकलाई आमन्त्रण गरिसकेको छ ।

तालिवानले सो कार्यक्रममा रसिया, चीन, टर्की, इरान, पाकिस्तान र कतारलाई बोलाएको सञ्चार सूत्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्