प्रधानमन्त्री मोदी र अबुधाबीका राजकुमारबीच छलफल



इन्डिया न्युज नेटवर्क ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार ‘हालको क्षेत्रीय राजनीतिक घटनाक्रम’ बारे छलफल गरेका छन् ।

टेलिफोनमार्फत भएको कुराकानीको क्रममा संसारमा आतंकवाद र उग्रवादको लागि कुनै ठाउँ नभएकोमा दुवै नेतृत्व सहमत भएका छन् । र, त्यस्ता शक्तिहरूविरुद्ध सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा दुवै नेताले जोड दिएका छन् ।

तालिवानले अफगानिस्तानमा नियन्त्रण गरेपछि त्यहाँको राजनीतिक स्थिति दिनानुदिन बदलिँदो अवस्थामा रहेको छ । सोही अनिश्चितताका बीच दुई नेताबीच छलफल भएको छ ।

एक आधिकारिक प्रेस विज्ञप्तिअनुसार भारत–यूएई व्यापक रणनीतिक साझेदारीअन्तर्गत विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगमा निरन्तर भएको प्रगतिलाई लिएर दुवै नेता सकरात्मक बनेका छन् ।

प्रधानमन्त्री कार्यालय (पीएमओ)ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दुवै नेताले साझा चासोका क्षेत्रीय मुद्दाहरूमा पनि छलफल गरेका थिए ।

कोभिड १९ महामारीका बेला भारतीय समुदायलाई यूएईले दिएको सहयोगका लागि प्रधानमन्त्री मोदीले धन्यवाद पनि व्यक्त गरेका थिए ।
कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले अक्टोबर १ तारिखदेखि दुबईमामा आयोजना हुने एक्सपो २०२० का लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रधानमन्त्री मोदीले ट्विटमा भनेका छन् – ‘युवराज मोहम्मद बिन जायेदसँग राम्रो कुराकानी । द्वीपक्षीय व्यापक रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा र हालैको क्षेत्रीय घटनाक्रमबारे छलफल। कोभिड १९ महामारीका बेला भारतीय समुदायलाई यूएईले दिएको सहयोगका लागि धन्यवाद र दुबई एक्स्पोको लागि मेरो शुभकामना । ’

प्रतिक्रिया दिनुहोस्