कांग्रेसको एनसी विन गठन



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसले आगामी महाधिवेशनको तयारीस्वरूप एनसी विन (नेपाली कांग्रेस वाइडली इन्फरमेसन नेटवर्क) गठन गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको मंगलबार बसेको बैठकले एनसी विन गठन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

एनसी विनले पार्टीको १४औं महाधिवेशनको प्रचार गर्ने र स्थानीय, प्रदेश र संघको आगामी निर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिमार्फत पार्टीको प्रचार एवं विपक्षीको प्रहारको प्रतिवाद गर्ने प्रवक्ता शर्माले बताउनुभयो । प्रवक्ता शर्माका अनुसार यसले दीर्घकालीनरूपमा पार्टीको विभिन्न तहलाई प्रविधिमार्फत सहजीकरण र सामाजिक सञ्जालमार्फत सकारात्मक सामाजिक प्रभावका लागि काम गर्नेछ ।

बैठकले प्रविधिमैत्री कांग्रेस अभियानको निरन्तरता दिने क्रममा सूचना प्रणालीलाई व्यापकता बनाउन पार्टीको प्रविधि र सामाजिक सञ्जाल उपसमितिका संयोजक ई. दीपेश विष्टको संयोजकत्वमा गठित एनसी विनमा २७ सदस्यीय केन्द्रीय संरचना बनाइएको छ भने सातै प्रदेशमा छुट्टाछुट्टै संरचना निर्माण गरिएको छ ।

सोही बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा एकता, उत्साह, रूपान्तरण ः सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने नारा पनि तय गरेको छ । बैठकले नीति र विचार केन्द्रित प्रचारका लागि ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम पनि आयोजना गर्ने निर्णय गरेको छ । डा. सुरेश आचार्यलाई संयोजनको जिम्मेवारी दिइएको चिन्तन चौधौं महाधिवेशन कार्यक्रममा सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रूपान्तरणका दर्जन बढी विषयमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्