सेजनले आर्थिक पत्रकारको दक्षता अभिवृद्धि गर्ने



काठमाडौं ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को मुलुकभरका सञ्चार माध्यममा आर्थिक पत्रकारको उपस्थिति बढाउने र उनीहरुको दक्षता अभिवृद्धिका लागि दीर्घकालीन महत्वका कामलाई अघि बढाउने भएको छ ।

सेजनको २२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गर्दै पहिलो बैठकले आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि विश्वविद्यालयसँग मिलेर स्तरीय प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

सेजनका नवनिर्वाचित अध्यक्ष जनार्दन बरालले सदस्यको क्षमता अभिवृद्धिका लागि प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कार्य समितिको पहिलो उद्देश्य भनेको सदस्यको क्षमता अभिवृद्धि गरि सञ्चारमाध्यममा अधिकभन्दा अधिक आर्थिक पत्रकारलाई प्रोत्साहन गराउन विश्वविद्यालयसँग मिलेर दर्घकालीन महत्वका कार्यक्रम अघि बढाउने योजना छ ।”

सेजनका निवर्तमान अध्यक्ष भीमप्रसाद गौतमले सेजनको गरिमालाई कायम राख्दै अनुसन्धानात्मक गतिविधिलाई निरन्तरता दिन नयाँ कार्य समितिलाई दिनुपर्ने बताउनुभयो । उहाँले नवनिर्वाचित अध्यक्ष बराललाई सेजनको पदभार हस्तान्तरण गर्दै संस्थाले गरिरहेका विभिन्न क्रियाकलापबारे जानकारी गराउनुभएको थियो ।

सेजनको यही भदौ १८ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँ पत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित हुनुभएको छ । सदस्यमा राष्ट्रिय समाचार समिति (रासस)का सम्वाददाता चेतबहादुर अधिकारी (सिबी), अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्