प्रदेश २ मा एमाले भन्दा एकीकृत एस ठूलो दल बन्यो



कृष्णउदास खनाल, वीरगन्ज ।

प्रदेश २ का एमाले सांसद डिल्ली उप्रेतीले एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टी रोज्नु भएको छ । मंगलबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर उप्रेतीले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्नु भएको हो ।

प्रदेश २ मा उप्रेतीको सनाखतपछि नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ ।यसअघि एमालेका गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुङ्गेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ्गले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए । प्रदेश २ को प्रदेश सभामा एमालेका २१ मध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि एमालेमा अब ८ जान मात्र प्रदेशसांसद बाँकी रहेका छन् ।

यसअघि गएको हप्ता वीरगन्जमा आयोजना गरिएको एमालेको प्रदेश २ स्थानीय भेलामा भने एमाले प्रदेश २ का इचार्ज रघुबीर महासेठले भने आफूहरु बहुमत रहेको जिकिर गर्नुभएको थियो । उहाले सुन्दर र सीता आफूहरुमै रहेको र डिल्ली पनि आफूहरुमै रहने दाबी गरेपछि उहाको दाबीलाई चुनौती दिँदै तीनै दलले एकीकृत एस रोज्नु भएको हो । यो संगै अब प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमाले भन्दा बलियो र ठूलो दल बनेको छ । निर्वाचन आयोगले मंगलबार भदौ २२ गतेसम्मका लागि दल रोज्ने समय दिएका कारण अब भने यो संख्या हेरफेर हुने संभावना नभएको नेकपा एसका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्