गिनीमा सैनिक विद्रोह, राष्ट्रपतिको स्थिति अज्ञात



कोनाक्री,(एजेन्सी) ।

पश्चिमी अफ्रिकी मुलुक गिनीमा सेनाले विद्रोह गरी सत्ता कब्जा गरेको दाबी गरेको छ । एउटा आधिकारिक पुष्टि हुन नसकेको भिडियोमा सेनाद्वारा घेरिएको अवस्थामा देखिएका गिनीका राष्ट्रपति अल्फा कोनडेको स्थिति अज्ञात रहेको छ ।

राष्ट्रिय टेलिभिजनमा देखापरेका विद्रोही सेनाले सरकार विघटन गरेको पनि दाबी गरेको छ । तर, रक्षा मन्त्रालयले भने सैनिक विद्रोहका प्रयासलाई राष्ट्रपतीय गार्डले असफल बनाइदिएको जनाएको छ । राजधानी कोनाक्रीस्थित राष्ट्रपति भवन नजिक भीषण गोली चलेको

केही घन्टापछि सेनाको दाबी सार्वजनिक भएको हो ।
गिनी प्राकृतिक स्रोत र साधनका लागि निकै धनी मानिन्छ । तर, वर्षौंदेखिको अस्थिरता र अव्यवस्थित स्थितिका कारण यो मुलुक विश्वकै सबैभन्दा बढी गरिब मुलुकहरूमध्ये एक बनेको छ । रातो, सुनौलो र हरियो रंगको राष्ट्रिय झण्डा बेरेका नौ जना नाम नखुलाइएका सेनाले टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा देश भ्रष्टाचार, अव्यवस्थित स्थिति र गरिबीको चरम चपेटामा परेका कारण आफूहरू सत्ता हत्याउन बाध्य भएको बताएका छन् ।

आफूहरूलाई नेसनल कमिडी फर रिकन्सिलेसन एन्ड डेभलपमेन्ट बताउने तिनीहरूले संविधान भंग गरिएको र अझै धेरै समावेशीयुक्त नयाँ संविधान बनाइने जानकारीसमेत दिएका छन् ।

पुर्व फ्रेन्च सैनिक लेफ्टिनेन्ट कर्णेल मामादी दोयुमवोयाको नेतृत्वमा यो विद्रोह भएको खबरहरू बाहिरिएका छन् । यस घटनामा तीनजना सैनिकको ज्यान गएको पनि बताइएको छ । कमिज र जिन्सको पाइन्ट लगाई खाली खुट्टा सोफामा बसिरहेको देखिएका ८३ वर्षीय राष्ट्रपतिलाई कुनै चोटपटक लागेको जस्तो नदेखिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्