एसओएसमा भ्रष्टाचार र अनियमितताको बलियो पकड

सजायको प्रतीक्षा गर्दागर्दै पुरस्कार ढोकामा



न्युज अफ नेपाल, काठमाडौैं ।

सात हजारभन्दा बढी नेपाली बालबालिका तथा विद्यार्थीलाई अन्तर्राष्ट्रिय सहयोगबाट पठन–पाठन तथा वासस्थल दिलाउँदै आएको एसओएस बालग्रामको नेतृत्वलाई भ्रष्टाचार र अनियमितताको आरोप खेपिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट प्रवल जनसेवा श्री प्रदान गर्ने तयारी भएको छ ।

‘असहाय र अभिभावकविहीन बालबालिकाका लागि आएको स्रोत–साधनको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको, कर्मचारीमाथि दुव्र्यवहार गरेको र अन्तर्राष्ट्रिय तालुकी कार्यालयले सघन छानबिनको दायरामा राखेर जिम्मबारी कटौती गरेका ईश्वरीप्रसाद शर्मालाई प्रवल जनसेवा श्री प्रदान गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीले कसरी सिफारिस गरेको कुरा सुन्नमा आएको छ, हामी आश्चर्यमा छौं’ एसओएसमा एक दशक वर्षदेखि विभागीय नेतृत्व समाल्दै आएका अधिकारीले न्युज–अफ–नेपाललाई जानकारी गराउँनुभयो– यसबाट एसओएसमा भ्रष्टाचार र अनियमितताको बलियो पकड रहेको प्रमाणित हुन्छ ।

हरेक वर्ष बिभिन्न क्षेत्रमा उच्च योगदान गरेका समाजका अग्रज व्यक्तित्वहरुलाई मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिले पदक दिने व्यवस्था छ । यस वर्षका लागि पदक पाउने व्यक्तिको सिफारिस गर्न सम्मान समिति बनेपछि एसओएस नेपालका कार्यकारी निर्देशक शर्मा अनुरोधपत्र लिएर भक्तपुरका सिडिओ पे्रमप्रसाद भट्टराई कहाँ पुग्नुभयो ।

‘राष्ट्रपतिज्यूबाट यो पदक प्राप्त भयो भने मेरो अन्तर्राष्ट्रिय अफिसले ममाथि थालेको कारबाही फिर्ता हुनेथियो’ भनेर अनुरोध गर्नुभयो । संस्थाको आन्तरिक संयन्त्रमा शर्माका बिरुद्ध कैयन उजुरीहरु परेपछि एसओएस अन्तर्राष्ट्रिय कार्यालयले विभिन्न क्षेत्रका अन्तर्राष्ट्रिय विज्ञमार्फत संस्थाका कार्यकारी निर्देशक शर्मालाई छानबिनको दायरामा राखेको छ । तर, आफूविरुद्ध लागेका सम्पूर्ण आरोपहरुलाई गलत साबित गर्न शर्मा भने फरक ढंगले लबिङमा लाग्नुभएको छ ।

‘सुखेतस्थित बालग्राममा रहेकी आमा पदमा कार्यरत यशोधा महतलाई विवाह गरे जागिर खाइदिन्छु भनेर धम्काएका कारण कार्यकारी निर्देशक शर्मा पहिला पनि विवादमा हुनुहुन्छ, त्यसको पनि अन्तर्राष्ट्रिय कार्यालयले छानबिन चलाइरहेको छ’ अधिकारीले स्मरण गराए ।

आफ्ना मातहतका कर्मचारीहरुप्रति हदैसम्म असहिष्णु रहेका र संस्थामा कार्यरत महिला, बालबालिका, कर्मचारीहरुप्रति दुव्र्यबहार गरेको, कर्मचारीमाथि नाताबाद–कृपावादका आधारमा पक्ष लिएको र आर्थिक अनियमितता गरेको भन्दै एसओएसका कर्मचारीले शर्माविरुद्ध दिएका दर्जनौं मुद्दा अन्तर्राष्ट्रिय कार्यलय र समाजकल्याण परिषद्मा विचाराधीन छन् ।
शर्माले बालग्रामको नेतृत्व समालेपछि एसओएस बालग्राम नेपाल बाल सुरक्षणको मामलामा विश्वभरि रहेका १ सय ३७ वटा मुलुकमध्ये उच्च जोखिमयुक्तको सूचीमा २७ देशभित्र परेको छ ।

‘गत वर्ष मात्र सुर्खेत एसओएसमा संस्थाको संरक्षणमा रहेका एक १६ वर्षे किशोरले बालग्राम निर्देशकले चरम यातना दिएर बालग्रामबाट निष्कासन गरेपश्चात आत्महत्या गरेका थिए । बालग्राम निर्देशक शर्माकै विश्वास पात्र हुन्, शर्माकै निर्देशनमा घटना सामसुम पारियो’ एसओएस सुर्खेतकी एक ‘आमा’ ले बताउनुभयो ।

दोस्रो विश्वयुद्धले जन्माएका संसार भरका अनाथ एबं असहाय बालबालिकाहरुका लागि खोलिएको एसओएस बालग्रामले विश्वमै सुनाम आर्जन गरेको छ । नेपालमा पनि यसको प्रतिष्ठा उच्च थियो, तर पछिल्ला केही वर्षमा यसभित्र अनियमितता मौलाएको र कारबाहीमा ढिलासुस्ती हुने गरेका कारण बद्नामी बढेको छ । एसओएस अन्तराष्ट्रियका संस्थापक स्वर्गीय हर्मन माइनरले लिएको आदर्शलाई यस प्रकारको व्यवहारले धूलिसात पारेको छ’ विभागीय प्रमुख गुनासो गर्नुहुन्छ ।

पहिलो बालग्राम खोलेको ७२ बर्ष पुरा हुदै गर्दा आज संसारका १३७ भन्दा बढि देशमा बालग्रामहरु बनेका छन् । ती बालग्रामहरुमा हजारांै बालबालिकाहरुले पुनर्जीवन पाएका छन् । ‘विवादास्पद् कार्यकारी निर्देशक शर्मालाई पदक दिइएमा राष्ट्रपति समेत विवादमा पर्ने र गतल व्यक्तिलाई सम्मान गरेर सम्मानित संस्था एसओएसमा भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहित हुने निश्चित छ’ सुर्खेतकी आमाले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्