राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको सपथ



न्युज अफ नेपाल, काठमाडौं ।

कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिनुभएको छ । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उहाँलाई सपथ खुवाउनु भएको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिनुभयो ।

‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उहाँले भन्नुभयो, ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’ यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ सेवा निवृत्त हुनुभएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्