गोरु काटेको आरोपमा तीन पक्राउ



अमृत अर्याल, स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गोरु काटेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भिरकोट नगरपालिका ८ ढापुकफेदीका नैन सिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ रहेका छन् । भिरकोट नगरपालिका ८ ढापुकफेदीमा आइबार राति १ बजे जिउँदो गोरु काटेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

प्रहरीले जिउँदो गोरुको मासु खाने प्रयोजनार्थ गोरु काटी भागबण्डा लगाउँदै गरेको अवस्थामा फेला पारी तीन जनालाई पक्राउ गर्नुको साथै मासु काट्न प्रयोग भएको दुई थान चक्कु बरामद गरेको जनाएको छ । सुराकीको आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । यसअघि पनि जिल्लामा गोरु काटेको अभियोगमा ४ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्