काठमाडौं महानगरलाई साक्षर नगर घोषणा : ९६.६० प्रतिशत जनसंख्या साक्षर

अहिलेको उपलब्धीलाई शतप्रतिशत बनाउन काम गर्नुपर्नेछ : प्रमुख शाक्य



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौँ महानगरलाई आज साक्षर नगर घोषणा गरिएको छ । पद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनी मार्गमा आयोजना गरिएको एक औपचारिक समारोहविच महानगरलाई ‘सांस्कृतिक सहर, साक्षर काठमाडौँ महानगर’ घोषणा गरिएको हो । स्थायी बसोबास भएका १५ बर्षदेखि ६० बर्ष उमेर ९५ प्रतिशतभन्दा धेरै व्यक्ति भएपछि त्यस्ता क्षेत्रलाई साक्षर घोषणा गरिन्छ । महानगरमा साक्षरता प्रतिशत ९६.६० छ । केन्द्रीय तथ्याङ्क विभागअनुसार ०६८ सालमा काठमाडौँ महानगरमा ८८.५२ प्रतिशत साक्षर थिए ।

घोषणापछि कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, साक्षरतालाई शतप्रतिशत बनाउन आफ्नो जोड रहेको बताउनुभयो । महानगरलाई गएको बर्ष फागुनमा साक्षर नगर घोषणा गर्ने हाम्रो कार्यक्रम थियो । विश्वव्यापी महामारी कोविडका कारण केही पछि आउनु प-यो ।

शाक्यले भन्नुभयो, ‘ अहिलेको प्रगतिलाई हामी बढाउँदै लैजान्छौँ । सामुदायिक सिकाइ केन्द्रको संख्या थपेर निरक्षरलाई साक्षर बनाउँदै लैजान हामीले नीति र बजेटको व्यवस्था गरेका छौँ । कतिपय कार्यक्रमको प्रतिफल पछि आउँछ । अहिले हामीले शिक्षामा गरेको लगानीको भविष्यमा राम्रो प्रतिफल प्राप्त हुनेमा आशावादी छौँ ।

प्रमुख शाक्यको भनाइ थियो । ०७७ को चैत मसान्तभित्र बागमती प्रदेशलाई साक्षर प्रदेश बनाउने योजना थियो । कोविडका कारण लक्ष्य राखिएको समयमा घोषणा गर्न सकिएन । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले, अहिले अन्य पालिकाहरु पनि साक्षर घोषणा गर्ने अभियानमा रहेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गीले साक्षरतामा प्रगति भएपछि सहरी विकासको सूचकमा एक फड्को पूरा भएको उल्लेख गर्नुभयो । साक्षर हुनेलाई साक्षरोत्तर कार्यक्रम सञ्चालन गर्नु पर्छ । यसका लागि महानगरले काम गर्छ । खड्गी श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा शिक्षा अधिकारी रामप्रसाद सुवेदी, शिक्षा समन्वय इकाइका प्रमुख नन्दलाल पौडेल, शिक्षा अधिकृत मोती भट्टराईलगायत वक्ताले साक्षर व्यक्तिहरुले स्तरीय जीवन व्यतीत गर्नुलाई यसको थप प्रगतिको सूचकका रुपमा हेर्नुपर्ने उल्लेख गर्नुभयो ।

महानगरको वडा १८ लाई यसअघि नै साक्षर वडा घोषणा गरिसकिएको थियो । वडा २४ मा निरक्षर नरहेको शिक्षा अधिकृत भट्टराई जानकारी दिनुभयो । ३२ वटा वडामध्ये १०, २८ र ३० मा साक्षरताको प्रतिशत ९९ छ । यिनीहरु सबैभन्दा धेरै साक्षरता भएका वडा हुन् । सबैभन्दा कम साक्षरता भएको वडा १४ हो । यस वडामा साक्षरताको प्रतिशत ९० छ ।

शिक्षा विभागकाअनुसार वडा २, ७, ११ र २७ गरी ४ वटा वडामा ९८ प्रतिशत, वडा ३ र १६ गरेर २ वटा वडामा ९७ प्रतिशत साक्षर छन् । वडा १३ मा ९७.४६ प्रतिशत साक्षर छन् । वडा १, ५, ६, १५, १७, १९ र २४ गरी ७ वटा वडामा ९६ प्रतिशत साक्षर छन् । वडा ८, ९, २१, २६, २९ र ३१ गरी ६ वटा वडाको साक्षरता प्रतिशत ९५ प्रतिशत हो ।

वडा २० मा ९५.२५ प्रतिशत र वडा ३२ मा ९५.५ प्रतिशत साक्षर छन् । वडा ४ र १२ गरी २ वटा वडामा ९४ प्रतिशत साक्षर छन् । साक्षरता अभियानमा सहयोग पु¥याउने सामुदायिक सिकाइ केन्द्रलाई घोषणा कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्