धुलिखेलमा तीजको छमछमी



मोतीराम तिमल्सिना, काभ्रे ।

९७ प्रतिशत नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाएर संक्रमण फैलन नदिन सचेत रहेको धुलिखेल नगरपालिकाले तीज विशेष कार्यक्रमको आयोजना गरी सहभागि महिलाहरुलाई छमछमी नचाएको छ । सोहि अवसरमा सासद गोमा भुर्तेल, नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा सहित सांसद तथा अन्य जनप्रतिनिधिहरु पनि छमछमी नाचेका छन् ।

सांसद गोमा भुर्तेलले महिलाहरुका शशक्तिकरणमा तिज महत्वपूर्ण चाड भएको बताउनु भयो । तिजको अवसरमा महिलाहरुले ब्यक्त गर्ने हरेक विषयलाई सहज र सरल बनाउँदै लैजानु पर्ने बताउनु भयो । तिजका नाममा विकृति विसंगति पनि मौलाउँदै गएको बताउँदै भुर्तेलले अधिकार र सचेतिकरणको पक्षमा तिजलाई उपयोग गर्नु पर्ने बताउनु भयो ।

धुलिखेल नगरपालिकाले कोभिडको समयमा जेष्ठ नागरिकहरु तथा अपाङ्ग, अशक्त, गरिव र एकल महिलाहरुका लागि निशुल्क विमा गरिदिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । ‘महिलाहरुलाई सिप उपलब्ध गराई आत्मनिर्भर बनाउने अभियानमा निरन्तर कार्यक्रम भईरहेका छन्’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘चार वर्षको अवधीमा महिलाहरुलाई सिप मार्फत शशक्तिकरण गर्ने र आत्मनिर्भर बनाउने अभियानमा सफल भयौं ।’

उद्योग गर्न चाहने महिलाहरुका लागि प्रविधि उपलब्ध गराउँदै सहुलियत कर्जाका लागि सहजिकरण गर्ने, ब्याजमा सहयोग गर्ने लगायतका कार्य भएकाले महिलाहरु केहि गरौ र आत्मनिर्भर बनौ भन्ने सोच रहँदा नगरपालिका साथमा रहेको विश्वास नगर प्रमुख ब्याञ्जुले दिलाउनु भयो ।

 उपप्रमुख विमला शर्माले गर्भवति तथा सुत्केरी महिलाहरुका लागि कोभिड जस्तो विपदमा पनि सहयोग उपलब्ध गराएको, बालबालिकाहरुलाई कपडा, महिलाहरुका लागि सिप तथा अन्य क्षेत्रमा सहजिकरण गरिएकाले अधिकारका लागि आवाज उठाउन सक्षम हुनु पर्ने बताउनु भयो । महिला विरुद्ध हुने हिंसामा कमि आए पनि महिलाहरु अझै अधिकारका लागि संगठित हुनु पर्ने उहाँले बताउनु भयो ।

धुलिखेल नगरपालिकाले हरितालिका तिजको अवसर पारी हिन्दु नारीहरुका लागि तिज विशेष कार्यक्रम आयोजना गरेको छ । प्रदेश सभा सदस्य गोमा भुर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १२ वटै वडाका महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।

नगर उपप्रमुख विमला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, नगरपालिका वडा अध्यक्षहरु एवं जनप्रतिनिधिहरु, पार्टी नेताहरु रिता ढकाल, कमला काफ्ले तथा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ब्यक्तिहरुको सहभागिता रहेको थियो । तीज विशेष कार्यक्रममा कलाकारहरुको सहभागिता रहेको थियो । कलाकारहरुको प्रस्तुतीमा सहभागिहरु छमछमी नाचेका थिए ।

प्रतिक्रिया दिनुहोस्