वर्षा र बाढीका कारण भक्तपुरका विभिन्न क्षेत्र डुबानमा



पुष्करराज बुढाथोकी , भक्तपुर

अविरल वर्षाले आएको बाढीका कारण भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका विभिन्न क्षेत्र डुबानमा परेका हुन् । लगातारको पानीका कारण मनोहरा खोलामा आएको बाढीले सुकुम्बासी क्षेत्रको बस्ती डुबानमा परेको छ । डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलाम्य भएका छन् ।

बाढीले सुकुम्बासी बस्तीको जनजीवन प्रभावित भएको छ भने दर्जनौ घरमा पानी पसेको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । डोजरको सहयोगमा पानीको निकास खोलिएकोले र मौसममा केही सुधार भएकाले अहिले बाढी घट्ने क्रममा देखिएको छ भने उद्धारमा नेपाल प्रहरी,नेपाली सेना, सशस्त्र प्रहरी खटिएका छन् ।यस्तै भक्तपुरको हनुमन्ते खोलामा बाढी आउँदा मध्यपुरथिमीको राधेराधे, चारदोबाटो ,बिस्कुट कारखाना, तरकारी बजार लगायतका क्षेत्रमा बाढी पसेको छ ।बाढीले सूर्यविनायक ,राम मन्दिर, बाराहीस्थान आसपास पनि प्रभाव पारेको छ ।भक्तपुर नगरपालिकाका हनुमानघाट, राममन्दिर र बाराहीस्थान क्षेत्रमा डुबान भएको छ।बाराहीस्थानमा बन्दै गरेको पुल पूरै डुबेको छ भने अस्थायी पुल पनि बगाएको छ।

खोलाको छेउमा रहेको पाटी पनि वर्षेनी डुब्छ। त्यस्तै राममन्दिर पनि १ फिट जति पानी जमेको छ। शान्ति निकेतन माध्यमिक विद्यालय र वालसेवक निमावि पनि डुबेका छन् ।हनुमन्ते खोलामा आएको बाढीले भेलुखेलस्थित सिद्धि स्मृति महिला तथा वाल अस्पताल र सल्लाघारीस्थित डा.इवामुरा अस्पताल परिसर पनि डुवानमा परेका छन् । चाँगुनारायण नगरपालिकाको कुईकेल गाउँ र नेपाल ईन्जिनियरीङ कलेज छेउ प्रगतिटोलमा समेत बाढीको खतरा बढेको छ ।
बनेपाको पुलबजार डुबानमा पर्दा भक्तपुरको पलाँसेसम्मै सडक ठप्प हुनुका साथै अरनिको राजमार्गमा सवारी जामको लाम देखिएको छ ।

बर्षातको कारण नाला गुम्बा खरिखोल्सामा आएको पहिरोले ताथली– नाला सडक अवरुद्ध भएको छ । बर्षासँगै सडकको सोल्टी मोडमा पहिरो खस्दा सवारी साधन रोकिएका छन् ।वर्षाले हनुमन्तेमा बाढी आएपछि सुरक्षाकर्मीलाई रातिदेखि नै तयारी अवस्थामा राखिएको र डुबान क्षेत्रमा परिचान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिबकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्