चीनको प्रयोगशालामा बंगुरको मासु उत्पादन शुरू



साँघाइ, (एजेन्सी) ।

चीनको सेलएक्स नामक एक कम्पनीले प्रयोगशालामा तयार पारिएको बंगुरको खाद्य परिकार सार्वजनिक गरेको छ । साथै चीनले प्रतिस्पर्धात्मक मूल्यमा अझै बढी वातावरणमैत्री यस्तो बंगुरको मासु उत्पादन गरेर आगामी सन् २०२५ सम्ममा विश्वका मासु उपभोग गर्ने प्रमुख राष्ट्रहरूमा निर्यात गर्ने लक्ष्य रहेको जनाएको छ ।

चीनको स्वदेशी कालो बंगुरको कोष प्रयोग गरी साँघाई प्रयोगशालामा तयार पारिएको यस मासुको नमुनाको स्वाद लिन र यस व्यवसायमा लगानी गर्न इच्छुकहरूलाई चीन सरकारले आमन्त्रण गरेको छ । प्रोटिन प्लान्टसहित प्लेटमा सर्भ गरिएको पिसिएको बंगुरको मासुको परिकार खाएका लि पेइयिङ नामक एक अतिथिले यसको स्वादको तारिफ गरेका छन् ।

यस व्यवसायको परिकल्पना गने समूहले भनेको छ, ‘यसरी कुनै पनि विशेष प्रयोगशालामा पशु मांसपेशीका कोषहरूबाट तयार पारिने यस्तो मासु परिष्कृत हुन्छ । यसले मासुका लागि जनावर नै पाल्नुपर्ने वातावरणीय समस्याबाट जोगाउँछ । साथै यसले पशुजन्य रोगहरूको समस्या पनि ल्याउँदैन । ’

चीनमा सन् २०२० मा ८ करोड ६० लाख टन मासु खपत भएको थियो । यो परिमाण वास्तवमा विश्वकै कुल मासुको मागको ३० प्रतिशत रहेको छ । सेलएक्सले यस्तो सफा मासुको उत्पादनले वातावरणमा कार्बन उत्सर्जनलाई पनि केही हदसम्म नियन्त्रित गर्न सकिने जनाएको छ ।

प्रयोगशालामा उत्पादित मासुले बजारमा स्थिर खाद्यान्न आपूर्तिमा पनि टेवा पुर्‍याउँछ । सन् २०१८ मा विश्वमा फैलिएको अफ्रिकन स्वाइन फिभरको कारण बंगुरको मासुको अत्यन्तै अभाव हुनपुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्