असी वर्षपछि जुम्ल्याहा हात्ती जन्मिए



कोलम्बो, (एजेन्सी) ।

श्रीलंकामा एउटा हात्तीले जुम्ल्याहा छावा जन्माएको र यस्तो घटना श्रीलंकाको इतिहासमै झण्डै असी वर्षपछि भएको सरकारी वन्यजन्तु निकायले जनाएको छ । मुलुकको मध्य पहाडी क्षेत्रमा रहेको पिन्नावाला हात्ती अनाथालय आश्रममा २५ वर्षीया सुरागी नामक हात्तीले जुम्ल्याहा भाले छावालाई जन्म दिएको सो अनाथालयका प्रवक्ताले जानकारी दिएका छन् ।

ती छावाको १७ वर्षीय बाउ पान्डु पनि त्यही आश्रममा बस्दै आएको छ । स्थानीय हिरू टेलिभिजनले प्रशारण गरेको भिडियो फुटेजमा खरानी रंगका ती छावाले आफ्नै खुट्टाले टेकेर आफ्नी आमाका खुट्टा वरपर घाँस खाँदै गरेको देखिन्छ ।

श्रीलंकाली हात्ती विशेषज्ञहरूका अनुसार पछिल्लोपटक सन् १९४१ मा श्रीलंकामा जुम्ल्याहा छावा जन्मेका थिए । श्रीलंकाको सबैभन्दा चर्चित पर्यटकीय आकर्षणमध्ये एक मानिएको पिन्नावाला सन् १९७५ मा स्थापित गरिएको हो । यस आश्रमलाई उद्धार गरिएका र घाइते हात्तीहरूको उपचार तथा स्याहारका लागि प्रयोग गरिने गरिएको छ । कुल जनसंख्या करिब २ करोड २० लाख रहेको श्रीलंकामा जंगली हात्तीको संख्या करिब ७ हजार ५ सय रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्