स्पष्ट अल्पमत, ‘पर्ख र हेर’ मा मुख्यमन्त्री शाक्य



रोशन पराजुली, हेटौंडा । 

स्पष्ट अल्पमतमा परे पनि वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘पर्ख र हेर’ को नीतिमा रहनुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सातामा अल्पमतमा पर्नुभएकी शाक्य कसरी अगाडि बढ्ने भन्नेबारे ‘पर्ख र हेर’ को अवस्थामा रहनुभएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षामा शाक्यले आइतबार सञ्चारकर्मीसँग प्रदेशमा आधिकारिकरूपमा दल विभाजन भएपछि मात्र सरकारको आगामी भूमिका तय हुने बताउनुभयो ।

विपक्षीहरु अविश्वासको प्रस्तावतर्फ अगाडि बढिसकेका बेला मुख्यमन्त्री शाक्यले विपक्षी दलले अविश्वास प्रस्ताव ल्याए त्यसको सामना गर्न फरक भूमिका निर्वाह गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिलादेखि सम्बन्ध राम्रो हुँदा विपक्षी दलहरुले अविश्वासको प्रस्ताव ल्याउनुहुन्छ जस्तो त मलाई लाग्दैन । हामीले उहाँहरुको भूमिका पनि हेर्नुपर्ने हुन्छ । दल विभाजनपछि केकस्तो अवस्था आउँछ, त्यहीअनुसार अघि बढ्छौं । छाड्नपर्ने अवस्था आएछ भने छाड्न पनि तयार छौं ।’ प्रतिपक्षको प्रस्तुतिअनुसार आफू अगाडि बढ्ने भन्दै विपक्षी दलका नेतासँगको विगतको सम्बन्धका आधारमा सहमति र सहकार्यको गृहकार्य गरिने उहाँको भनाइ छ ।

उहाँले आफूहरु प्रतिपक्षमा बस्नुपर्ने अवस्था आए सहर्ष स्वीकार गरिने बताउनुभयो । ‘जनताको काममा इमानदारितासाथ लागेका छौं । जति दिन सरकारको नेतृत्व पाउँछौं, हामी काम गर्छाैं । प्रतिपक्षमा बस्नुपर्ने अवस्था आए सहर्ष स्वीकार गर्छौं ।’ –उहाँले भन्नुभयो ।

उहाँले हालसम्म प्रदेशमा आधिकारिकरुपमा पार्टी विभाजन भइनसकेको भन्दै आफूले २२ गते कुरेर बसेको बताउनुभयो । ‘केही साथीहरुले एमाले छाडेर नयाँ दल रोजिसक्नुभएको छ । तर, २२ गतेसम्म दल चयनको समय छ । त्यसपछि मात्र एमाले विभाजन भएर हामी अल्पमतमा पर्ने हो’, उहाँले भन्नुभयो– ‘एमाले आधिकारिकरूपमा विभाजन भएपछि कस्तो परिस्थिति आउँछ, त्यसलाई सामना गरेर अघि बढ्छौं ।’

नेकपा एमाले वागमती प्रदेशको संसदीय दलको बैठकमा शाक्यले आफू एमालेमा नै रहेको बताउनुभएको थियो । उहाँले बैठकमा आफ्नो विषयमा भ्रम फैलाउन खोजिएको भन्दै गुनासो पनि गर्नुभएको थियो । एमाले वागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले भन्नुभयो– ‘पार्टीलाई एकताबद्ध बनाउन हामीले अभियान अगाडि सारेका हौं । सरकार टिकाउने र जनताको पक्षमा लाग्ने कुरामा अनवरत छौं ।’

तर, नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारको आयु अब केही दिन मात्र रहेको बताउनुभएको छ । नेता बानियाँले भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेकाले यो सरकारको आयु अब केही दिनमात्र बाँकी रहेको बताउनुभयो । नेता बानियाँले वागमती प्रदेशमा छिट्टै गठबन्धनको सरकार गठन हुने दाबी गर्नुभयो ।

सरकारको नेतृत्व कांग्रेस, नेकपा (एकीकृत समाजवादी) वा नेकपा माओवादीमध्ये कुनै एक दलले गर्ने कुरा निश्चित रहेकाले गठबन्धनको सहमति र सहकार्यले यसको निर्णय गर्ने उहाँको भनाइ छ ।

वागमती प्रदेशका १ सय ९ सांसदमध्ये ५६ सांसदसहितको एमालेले बहुमतको सरकार चलाउँदै आएको थियो । तर, एमालेबाट निर्वाचित १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजिसकेका छन् । २२ गतेसम्म दल चयनको समय हुँदा हालसम्म प्रदेश सरकार व्यवहारिकरूपमा अल्पमतमा परे पनि कानुनीरूपमा बहुमतमा छ । एमाले साना दलसँग मिलेर बहुमत पु¥याउने प्रयासमा भए पनि सरकार गठनका लागि पर्याप्त मत पुग्दैन ।

२३ गते आधिकारिकरूपमा प्रदेशमा एमाले विभाजन हुने हुँदा ३० दिनभित्र शाक्यले विश्वासको मत लिनुपर्ने हुन्छ । तर, मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने स्पष्ट देखिएको छ । अब उहाँसँग संसद्मा विश्वासको मत लिने वा राजीनामा दिने भन्ने दुई विकल्प छन् ।

एमाले विभाजित भएर नेकपा समाजवादीमा गएका सांसदहरुले भने मुख्यमन्त्री शाक्यलाई नयाँ दलमा आउन आग्रह गरेका छन् । समाजवादीकी सांसद मुनु सिग्देलले शाक्य पहिला माधव नेपाल खेमाको रहेको भन्दै २२ गतेसम्ममा समाजवादीमा आउन शाक्यलाई आग्रह गर्नुभयो ।

‘हामीले नै उहाँलाई मुख्यमन्त्री बनाएका हौं । उहाँलाई प्रदेश सरकारबाट बिदा गर्न मन छैन । एमाले छाडेर समाजवादीमा आउनुभयो भने हाम्रो अभिभावक उहाँको संरक्षण गर्छौं ।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्