काँग्रेस महाधिवेशन : स्याङ्जाका सबै वडाको अधिवेशन सम्पन्न



अमृत अर्याल, स्याङ्जा ।

काँग्रेसमा भित्र भित्रै नेतृत्वको दाबेदारी सुरु भैसकेको देखिन्छ । हालैमात्र सत्ताको नेतृत्व गरेको दल नेपाली काँग्रेस पार्टीको १४औं महाधिवेशन अन्तर्गत यही भदौ १८ गतेदेखि वडा अधिवेशन शुरु भएको छ । पदावधि गत बर्ष नै सकिएको भएता पनि विधान अनुसार एक बर्ष थपिएको पार्टीको निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद सकिन लागेपछी अन्तिम क्षणमा आएर काँग्रेसले हतार हतार महाधिवेशन गर्न लागेको हो ।

स्याङ्जाका ९७ वटै वडामा भदौं १८, १९ र २० गतेसम्म गरि वडा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न वडा अधिवेशनबाट हरेक वडाहरुमा वडा समिति, पालिका सदस्य र क्षेत्रीय प्रतिनीधि चुनिएका छन् । स्याङ्जाका ११ पालिकामा ९७ वटा वडाहरु रहेका छन् ।

तिनै ९७ वडाबाट चुनिएर आएका क्षेत्रीय प्रतिनीधिहरुले नै पालिका, क्षेत्र, जिल्ला, प्रदेश तथा केन्द्रमा नेतृत्व चयन गर्नेछन् । यसअघि भएको १३ औं महाधिवेशनमा स्याङ्जाबाट ९ हजार ७ सय ८ जना क्रियाशिल सदस्य रहेकोमा १४ औं महाधिवेशनमा आईपुग्दा १० हजार १ सय २८ नयां क्रियाशिल सदस्य थपिएर जम्मा १९ हजार ८ सय ३६ क्रियाशिल सदस्य रहेको का.वा. जिल्ला सभापती कुमार रानाले बताउनुभयो ।

वडा अधिवेशनबाट जिल्लाभर २ हजार १ सय ३७ क्षेत्रीय प्रतिनीधि तथा ९७ वडाका वडा सभापती पदेन क्षत्रीय प्रतिनीधि गरी २ हजार २ सय ३४ जना प्रतिनिधि चयन भएका छन् । जसले नगर, संघिय क्षेत्र, प्रदेश तथा जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्व चुन्नेछ । यस जिल्लाबाट ६४ जना प्रदेश महाधिवेशन प्रतिनीधि, २५ जना महाधिवेशन प्रतिनिधि र १४ जना महासमिति सदस्य चयन हुनेछन् ।

देशको सबैभन्दा पुरानो दल महाधिवेशनमा केन्द्रित हुँदा त्यसको प्रभाव जताततै परेको छ । पार्टीको महाधिवेशनले संगठनलाई मजबुत बनाउन सहयोग पुग्ने काँग्रेस स्याङ्जाका का.वा. सभापती राना बताउँनुहुन्छ । काँग्रेसको कुनै पनि तहको अधिवेशनको क्रियाकलापले कहीँ कतै प्रभाव नपार्ने गरी र हतार नहुनेगरी कार्यतालिका तयार भएको रानाले बताउनुभयो ।

क्रियाशिल सदस्यता सम्वन्धमा जिल्लामा खासै विवाद नदेखिएको भएतापनि क्षेत्रीय प्रतिनीधि चयनमा भने धेरै वडामा चुनाब समेत भएको छ । नेपाली काँग्रेसमा महाधिवेशनको मिति घोषणासँगै भित्र भित्रै भावी जिल्ला नेतृत्वको दाबेदारी पनि सुरु हुन थालेको छ ।

जिल्ला नेतृत्वमा संविधान सभा सदस्य राजु थापा, भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी र का.वा. सभापती कुमार राना आकांक्षी देखिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्