सरकार ओत लाग्ने ठाउँ देउ



किरन धामी,दार्चुला ।

भदौ १३ गते राती वर्षा संगै आएको बाढी र पहिरोले दुहुँ गाउँपालिका–२ सिमारका दिलिप सिंह बडालको घर खेत सबै क्षति भयो । बस्ती माथी रहेको सामुदायिक वनबाट आएको पहिरो सहितको बाढीले सिमार बस्तीका अन्य १७ परिवारको बिचल्ली बनाइ दिएको छ । सिमार मात्रै नभएर गाउँपालिकाको बथ्थोली, नरोली, लसे, गुना, अफरे, सुत्खोला लगायतका बस्तीहरु बाढी र पहिरोले तहस नहस भएका छन्, भने त्याहाका बासिन्दाले त्रिपाल मुनि रात बिताइरहेका छन् ।

बाढी र पहिरो लगत्तै उक्त क्षेत्रका केहि परिवार सुरक्षित स्थान हिकिलाको गौरिलमाण्डौ माविमा सरेका छन्, भने केहि परिवार जोखिम मोलेरै प्रभावित क्षेत्रमै त्रिपाल टाँगेर बसीरहेका छन् । जोखिम मोलेरै बाढी पहिरो प्रभावित क्षेत्रमा बसीरहेका परिवारहरुको सरकारले यथाशिघ्र व्यवस्थापन नगर्ने हो भने जुनसुकै बेला ठुलो घट्ना घट्न सक्ने सम्भावना रहेको छ । पहिरोले बस्तीहरुमा ठुल–ठुला दरार परेर जमिन फाटेको छ ।पिडितका आँखा जतिबेला पनि रसाएका देख्न सकिन्छ उनिहरुका आँखामा आशु मात्रै होइन गहिरो दुखः र पिडा प्रस्ट झल्किन्छ । उनिहरुको सरकार संगै एउटै माग छ, ओत लाग्ने ठाउँको । बाढी र पहिरोले आँखै अगाडी वर्षौ वर्ष भोक भोकै जेनतेन कमाईको पैसाले बनाएको घर खेत, अन्न बाली तहस नहस बनाएको पिडित बताउछन् ।

बाढी र पहिरोले सिमार बस्तीका नरपति डडालको सर्वस्व नै नष्ट पारिदिएको छ । उनको सरकारलाई एउटै माग छ बस्नलाई ओत चाहियो । पिडितले स्थानिय सरकारका प्रतिनिधिहरु संग आफुहरुको बास व्यवस्थापनका लागी माग गरेका छन् । राती १ बजे देखी सुरु भएको बाढी पहिरोले विहान ६ बजे सम्म निरन्तर बस्ती, घर, खेत सबै कटान गरेको पिडितले बताएका छन् ।बाढी र पहिरो प्रभावित क्षेत्रमा जाने जो सुकैलाई पनि अहिले पितिडहरु हार गुहार गर्छन बिन्ती बिसाउनछन् । पापी बाढी र पहिरोले क्षतविक्षत बनाइदिएको घर जग्गा जनिम देखाउछन् अनि पिडा पोख्छन् । बाढी र पहिरोले एक गाउँबाट अर्को गाउँ सम्म जाने बाटोघाटो सबै बगाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियले काठेपुलहरु हालेपछि आवत जावतमा सहजता भएको छ ।

प्रभावित परिवारहरु अहिले दिन प्रतिदिन बस्ती छोडी रहेका छन् । उनिहरु सुरक्षित स्थानको खोजी गर्दै मालसमान बोकेर अन्तै जान लागेका छन् । बाढी र पहिरोमा परी ५ जनाले ज्यान गुमाएका छन्, भने २ सय ६५ घर प्रभावित भएका छन् । यता पालिकाले प्रभावित परिवारको जनजिवन सामान्य बनाउन सुरक्षित स्थानमा अस्थायी व्यवस्थापन गर्ने, बाटोघाटो निर्माण गर्ने, पिडित परिवारलाई राहात उपलब्ध गराउने काम गरिरहेको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्