विश्वमा स्मरण शक्ति गुमाउनेको संख्या कहालीलाग्दो



जेनेभा,(एजेन्सी) ।

स्नायु प्रणालीमा आउने गडबडीका कारण अहिले पनि विश्वमा ५ करोड ५० लाखभन्दा बढी व्यक्ति स्मरण शक्ति क्षीण अवस्थमा बाँचिरहन बाध्य छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार स्वास्थ्यसम्बन्धी यस मानवीय समस्याका कारण विश्वले वर्षको १३ खर्ब डलर बराबरको मूल्य चुकाइरहनु परेको छ । अल्जाइमर रोग , मस्तिष्कघात वा मस्तिष्कमा चोट पुग्दा स्मरण शक्ति क्षीण हुने अवस्था आइपर्छ । विश्वमा पाको उमेरका मानिसहरूको संख्या बढ्दै गइरहेका कारण सन् २०३० सम्ममा यस्ता रोगीको संख्या बढेर ७ करोड ८० लाख पुग्ने तथा सन् २०५० सम्ममा यो संख्या १३ करोड ९० लाख पुग्ने डब्ल्यूएचओले भविष्यवाणी गरेको छ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको यससम्बन्धी एक प्रतिवेदनमा विश्वका केवल चारवटा राष्ट्रले मात्र स्मरण शक्ति गुमाएका बिरामी र तिनीहरूका परिवारलाई सहयोग गर्ने राष्ट्रिय नीति बनाएको उल्लेख गरिएको छ । साथ डब्ल्यूएचओले विश्वका सम्पूर्ण मुलुकलाई यस जनस्वास्थ्य चुनौतीमाथि सम्बोधन गर्न आह्वान पनि गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रिससले यस डिमेन्सिया नामक समस्याका कारण विश्वका लाखौं मानिसले स्वतन्त्रता, सम्मान र चिनेकै मानिसहरू अपरिचित बन्ने तथा माया गुमाउनेजस्ता समस्या भोग्नुपरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्