चीनमा बालबालिकाको भिडियो गेम थप नियन्त्रित



बेइजिङ,(एजेन्सी) ।

चीनले बालबालिकाले खेल्ने अनलाइन भिडियो गेमको समय सीमालाई थप कटौती गर्ने घोषणा गरेको छ । सरकारले तय गरेको नयाँ सीमाअनुसार अबदेखि तिनीहरूले साताको कुल तीन घन्टामात्र भिडियो गेम खेल्ने अनुमति पाउने भएका छन् । स्थानीय समाचार स्रोतलाई उद्धृत गर्दै ब्लमवर्गले टेन्सेनटजस्ता प्लेटफर्मले बालबालिकालाई शुक्रबार, सप्ताहान्त र अन्य सार्वजनिक बिदाका दिन बेलुका ८ देखि ९ बजेसम्म अनलाइन भिडियो गेम खेलाउन सक्ने जनाएको छ ।

सन् २०१९ मा तिनीहरूलाई दिनको १ घन्टा ३० मिनेट गेम खेल्ने छुट दिइएको थियो । यसै महिनाको शुरूमा मात्र टेन्सेनटलाई नाबालकहरूलाई अत्यन्तै चर्चित मोबाइल टाइटल ‘अनर अफ किंग्स ’ नामक अनलाइन गेम खेल्ने समय कटौती गर्न बाध्य पारिएको थियो । तिनीहरूलाई साताको एक रात एक घन्टा र सप्ताहान्तमा दुई घन्टा मात्र भिडियो गेम खेल्न दिन टेनसेनटलाई निर्देशन दिइएको थियो । यस नयाँ नियमका कारण भिडियो गेम कम्पनीको सेयर बजारमा गिरावट आउनसक्ने बलियो सम्भावना रहेको अर्थ विश्लेषकहरू बताउँछन् ।

राष्ट्रिय प्रेस तथा प्रकाशन प्रशासनले सरकारी समाचार निकाय सिन्ह्वालाई गेम खेलाउनले समय बेलुका ८ देखि ९ बजेसम्म मात्र तोकिएको जानकारी दिएको छ । साथै सम्बन्धित भिडियो गेम कम्पनीहरूलाई त्यस समयभन्दा बाहिर खेल खेल्न खोज्ने बालबालिकालाई रोक्न पनि निर्देशन दिइएको छ । कलिला बालबालिकामा भिडियो गेमको दुव्र्यसनी बढेकोमा लामो समयदेखि त्यसलाई नियन्त्रण गर्न अभिभावकहरूले सरकारलाई अनुरोध गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्