मास्क नलगाउने छात्राका कारण प्राध्यापकले जागिर छाडे



वासिंगटन,(एजेन्सी) ।

अमेरिकाको युनिभर्सिटी अफ जर्जियाका एकजना प्राध्यापकले गत साता आफ्नो कक्षामा रहेका एकजना विद्यार्थीले मास्क लगाउन नमानेकै कारणले आफ्नो जागिरबाटै राजीनामा दिएका छन् । मनोविज्ञान विषय अध्यापन गर्ने इर्विन बर्नस्टेन नामक ती प्राध्यापकले कक्षाकोठामा भएको सो सामान्य विवादलगत्तै राजीनामा दिएका थिए । युनिभर्सिटी अफ जर्जियाको नियमअनुसार त्यहाँका कक्षाकोठा र अन्य परिसरमा मास्क लगाउनु आवश्यक छैन ।

एक छात्राले मास्क लगाउन मान्दै नमानेपछि ती ८८ वर्षीय प्राध्यापकले कक्षाकोठामा आफूले अध्यापनबाट अवकाश लिएको औपचारिक घोषणा गरेका थिए । बर्नस्टेनले युनिभर्सिटी अफ जर्जियाको विद्यार्थीहरूको अखबार ‘रेड एन्ड ब्ल्याक’ आफ्ना एक छात्राले लगातार दोस्रो दिन पनि मास्क नलगाइकन कक्षामा बस्न खाजेपछि आफूले सो निर्णय लिएको बताएका छन् । ती छात्राले आफूलाई लगाउन दिइएको मास्क लगाउँदा श्वास फेर्न असजिलो महशुस हुने गरेको भन्दै नाक छोप्ने गरी राम्ररी मास्क नलगाएको बताइएको छ ।

प्राध्यापक बर्नस्टेनले भनेका छन्, ‘म वायु सेनामा छँदा मैले आफ्नो मुलुकको रक्षाका लागि आफ्नो जीवनलाई कयौंपटक खतरामा पारेको थिएँ । तर, यस कोरोना महामारी चलिरहेका बेला एकजना मास्क नलगाएकी छात्रालाई पढाउने नाममा म त्यस्ता कुनै खतरा मोलन चाहन्न ।’

प्रतिक्रिया दिनुहोस्