पारमाणविक भट्टी पुनः चालु भएको संकेत



प्योङयाङ ।

उत्तर कोरियाले योङब्योन पारमाणविक भट्टी पुनः प्रारम्भ गरेको देखिएको संयुक्त राष्ट्र संघको पारमाणविक निकायले जनाएको छ । पारमाणविक हातहतियार निर्माणका लागि आवश्यक प्लुटोनियम सो भट्टी परिसरमा उत्पादन गरिन लागेको विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा निकाय (आईएईए) लाई सन् २००९ मा प्योङयाङले निष्कासन गरेको थियो ।

तैपनि आईएईएले भू–उपग्रहबाट खिचिएका तस्वीरहरूमार्फत आफ्नो काम गर्दै आएको थियो । यस निकायले भट्टीले गत जुलाई महिनादेखि चिसो पानी फ्याँक्दै गरेकाले यो सञ्चालमा रहेकोजस्तो देखिएको स्पष्ट पारेको छ । ५ मेगावाटको भट्टीसहितको योङब्योन पारमाणविक परिसर उत्तर कोरियाको पारमाणविक कार्यक्रमको मध्य भागमा रहेको छ ।

आईएईएका अनुसार यसअघि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई सिंगापुरमा भेटेको केही महिनापछि अर्थात् सन् २०१८ को डिसेम्बरमा पहिलोचोटी यो भट्टी सक्रिय रहेको अवस्थामा देखिएको पनि जनाएको छ ।

उत्तर कोरिया कतिवटा पारमाणविक हातहतियार उत्पादन गर्न सक्षम छ भन्ने पत्ता लगाउन अन्तर्राष्ट्रिय हातहतियार विशेषज्ञ टोलीले लामो समय देखि योङब्योनमाथि सूक्ष्म अवलोकन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्