हवाई अखडा आक्रमणमा ३० सैनिक मारिए



साना ।

दक्षिणी यमनस्थित एक हवाई अखडामा भएको आक्रमणमा सरकार समर्थित कम्तीमा तिसजना लडाकुको ज्यान गएको सुरक्षा तथा चिकित्सा सुत्रले जनाएका छन् ।

यमनी दक्षिणी फौजका प्रवक्ताले अलअनाड हवाई अखडामा सशस्त्र ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण भएको पुष्टि गरेका छन् । उनले यस अप्रत्यासित आक्रमणका लागि इरानसँग आवद्ध हौथी मुभमेन्टका लडाकुहरूलाई दोष दिएका छन् ।

हौथी समूह यमनमा साउदी अरेबिया समर्थित सरकारविरुद्ध संघर्षरत रहेका छन् । आफूमाथि लगाइएका आरोपलाई लिएर हौथीले अझैसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन । तर, तिनीहरूले विगतमा पनि सोही अखडामा आक्रमण गर्दै आएको इतिहास छ ।

सन् २०१५ मा शुरू भएको गृहयुद्धका कारण यमन तहस नहस भइसकेको स्थिति रहेको छ । हौथी समूहले मुलुकको ठूलो भूभागमाथि कब्जा गरेपछि साउदीको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौजले राष्ट्रपति अब्द्राबुह मन्सुर हादीको सत्ता पुनःस्थापित गर्नका लागि सैनिक अभियान चलाएको थियो ।

अहिलेसम्म यस युद्धका कारण १ लाख ३० हजार जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ । संयुक्त राष्ट्र संघले यमन विश्वकै सबैभन्दा ठूलो र भयावह मानवीय समस्या भएको मुलुक घोषणा गरिसकेको छ ।

करिब १ करोड २०लाख मानिस खाद्यान्न अभावको चपेटामा परेका छन् भने ५० प्रतिशत पाँच वर्षमुनिका बालबालिका कुपोषणबाट पीडित रहेका छन् ।

आइतबार भएको आक्रमणका एक प्रत्यक्षदर्शी सैनिकले बिहानको नास्ता खाइसकेकपछि विमान राख्ने ह्याङ्गरमा बसिरहेका बेला अचानक क्षेप्यास्त्र र बम बोकेका ड्रोनहरूबाट आक्रमण भएको बताएका छन् ।

उनले करिब ६० जना सैनिक गम्भीर घाइते भएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्