कोभिडको उपचारमा चौपायालाई दिइने औषधि प्रयोग !



लसएन्जलस,(एजेन्सी) ।

अमेरिकी खाद्यान्न तथा औषधि निकाय (एफडिए) ले चौपायाहरूलाई परिजीवीबाट जोगाउन तयार पारिएको औषधि कोभिड–१९ उपचारको क्रममा सेवन नगर्न मानिसहरूलाई चेतावनी दिएका छन् । यस्तो औषधि प्रयोगका कारण मानव शरीरमा विषको प्रभाव देखिएका थुप्रै घटना सार्वजनिक भएपछि यो चेतावनी दिइएको हो । मिसिसिपीको स्वास्थ्य राज्य विभागले चौपायालाई जुका लाग्न नदिन प्रयोग गरिने इभर्मेक्टिन नामक औषधि सेवनका कारण थुप्रै व्यक्तिमा विषको असर देखिएका घटनाहरू सार्वजनिक गरेको हो ।

एफडिएले ट्विट गरेको छ, – ‘तपाईं कुनै घोडा वा गाई होइन । त्यसैले यसको प्रयोग नगर्नुहोस् । केही उपभोक्ताले अस्वाभाविक उपचारमाथि चासो दिनु कुनै आश्चर्यको कुरा होइन ।’ अमेरिकामा अहिलेसम्म कुल जनसंख्याको ५२ प्रतिशतभन्दा कम व्यक्तिले मात्र पूर्णरूपमा खोप लगाएका छन् । ३७ प्रतिशत जनसंख्याले मात्र खोप लगाइसकेको मिसिसिपीमा थुप्रै व्यक्तिले आफूहरूलाई कोभिड–१९ विरुद्धको उपचारमा इभर्मेक्टिन दिइएको सम्बन्धित निकायलाई जानकारी दिएका छन् । एफडीएले ठूलो परिणाममा यो औषधि सेवन गर्नु अत्यन्तै खतरनाक र हानिकारक रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्