भारतीय विदेशमन्त्रीको अमेरिकी समकक्षीसँग वार्ता



इन्डिया न्युज नेटवर्क ।

विदेशमन्त्री एस जयशंकर र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच शनिबार कुराकानी भएको छ ।दुवैबीच अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे छलफल भएको थियो । दुवै नेतृत्वले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) को कार्यसूचीमाथि पनि विचार आदानप्रदान गरेका थिए ।

‘अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुराकानीमा अफगानिस्तानबारे हाम्रो छलफल जारी छ, यूएनएससीको कार्यसूचीबारे पनि विचार आदान प्रदान भएको छ’– जयशंकरले एक ट्विटमा भनेका छन् ।

तिनीहरूको बैठकमा अफगानिस्तान र संयुक्त राष्ट्र संघमा निरन्तर समन्वयसहित साझा प्राथमिकताहरूमा छलफल भएको थियो । ब्लिन्केनले एक ट्विटमा उनी अमेरिका–भारत साझेदारीलाई अझ गहिरो बनाउन तत्पर रहेको पनि बताएका छन् ।

‘अफगानिस्तान र संयुक्त राष्ट्रसंघमा निरन्तर समन्वयसहित हाम्रा साझा प्राथमिकताहरूका बारेमा छलफल गर्न आज भारतीय विदेशमन्त्री डा. जयशंकरसँग कुराकानी भयो । हाम्रो साझेदारीलाई अझ गहिरो बनाउनका लागि सधैँ तत्पर छौं’ – ब्लिन्केनले भनेका छन् ।

काबुल विमानस्थलमा भएको आत्मघाती हमलाको दुई दिनपछि सो छलफल भएको हो । उक्त आत्मघाती हमलामा १३ अमेरिकी सैनिक र लगभग १ सय ७० जना अफगानी नागरिक मारिएका थिए । अगस्ट १५ तारिखमा तालिवानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तानमा भएको यो पहिलो ठूलो हमला हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट नागरिक निकाल्ने कार्य जारी राख्ने बताएका छन् । साथै उनले यस बम विस्फोटका लागि जिम्मेवारविरुद्ध कडा कारबाही गर्ने पनि प्रतिबद्धता जाहेर गरेका छन् । भारतले काबुल विमानस्थलमा भएको घातक बम विस्फोटको कडा शब्दमा निन्दा गर्दै भनेको थियो, ‘आजको हमलाले आतंकवाद र आतंकवादीहरूलाई समर्थन प्रदान गर्ने सबैविरुद्ध विश्व एकजुट हुनुपर्ने आवश्यकतालाई बलियो बनाएको छ ।’

यसअघि, अफगानिस्तानको वर्तमान स्थितिलाई भयावह भन्दै परराष्ट्र मन्त्रालयले स्थितिको अनुगमन गरिरहेको बताएको थियो । भारतले सबै सरोकारवालाहरूसँग सम्पर्क कायम राखेको र साझेदार देशहरूसँग सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

यसै गरी आइतबार अमेरिकी राष्ट्रपति वाइडेनले काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने सम्भावना धेरै भएको बताएका छन् । उनले कमान्डरहरूलाई उद्धृत गर्दै सम्भवतः आइतबारै पनि आक्रमण हुनसक्ने बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले सम्पूर्ण अमेरिकी नागरिकलाई सम्भावित आक्रमणका कारण विमानस्थल नजिकका क्षेत्रसमेत छाड्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्